INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी कुटपिट आरोपमा गिरफ्तार प्रधानाध्यापक रिहाइको माग गर्दै तीन दिनदेखि विद्यालय बन्द

बुलिङटार गाउँपालिकाका-६ को शिव माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार परेका प्रधानाध्यापकलाई रिहाइको माग गर्दै उक्त गाँउपालिकाका ४४ विद्यालय बन्द गरिएको छन् ।

विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलाई रिहाइको माग गर्दै कांग्रेस निकट नेपाल शिक्षक सङ्घले तीन दिनदेखि विद्यालय बन्द गराएको हो ।

गाँउपालिकाका सबै विद्यालयहरू बन्द भएपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । असोज २ गते प्रार्थनाको समयमा ढिलो आएको आरोपमा प्रधानाध्यापक श्रेष्ठले खुमानलाई कुटपिट गरेको आरोप छ । कुटपिटपछि सार्कीको कानबाट रगत बगेको थियो ।

पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्रधानाध्यापक विरूद्ध उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई गिरफ्तार गरेको थियो ।

उनलाई सोही दिन जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । कुटपिट एवम् अङ्गभङ्ग महलअन्तर्गत उनीविरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

गिरफ्तार परेका शिक्षकलाई निशर्त छाड्नु पर्ने नेपाल शिक्षक सङ्घको माग छ । यसअघि असोज १२ गते नेपाल शिक्षक महासङ्घका अध्यक्ष मोहनलाल कलवारले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका प्रधानाध्यापकलाई असोज १८ गते भित्र निशर्त रिहाइ नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पीडित पक्षले भने प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको घटनालाई राजनीतिककरण गर्दै विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्दै विद्यालय बन्द गर्दै आरोपितलाई उन्मुक्ति दिन खोजेको भन्दै असोज १७ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

खुमानका बुबा वीरबहादुर सार्की, मानव अधिकार सञ्जाल नवलपुरका अध्यक्ष भुपेन्द्र खनाल र समग्र विद्यार्थी सङ्गठनहरूको तर्फबाट अनेरास्ववियुका जिल्ला अध्यक्ष ठाकुर पराजुलीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष माधव प्रधानले असोज १८ गते ध्यानाकर्षण पत्र जारी गर्दै शिक्षकले गरेको दुर्व्यवहार अनुरूपको कारवाहीको सट्टा प्रधानाध्यापकको रिहाइको माग गर्दै विद्यालय बन्द गर्नु नेपाल सरकारको कानुनको खिलाप भएको जनाएका छन् ।

नवलपुरका शिक्षा इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालय बन्द भएको विषयमा असोज १८ गते पेशगत सङ्गठनका प्रतिनिधिसँग छलफलको कार्यक्रम तय भएको बताए ।

1

1

1

अन्य

भिडियो