INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कारको कसुरमा १० वर्ष ६ महिना कैद र २ लाख क्षतिपुर्ति

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा ५ जना बालकलाई जिल्ला अदालतले असोज १६ गते फरक–फरक कैद सजाय सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाका इजलासले बलात्कारको कसुर गरेको ठहर गर्दै १६ वर्ष माथिका १८ वर्षभन्दा मुनीका चार जनालाई १० वर्ष ६ महिना जेल सजाय तोकेको हो । त्यस्तै १५ वर्षीय बालकको हकमा नाबालक ठहर गर्दै सात वर्ष कैद र फरार रहेका अर्का एक १७ वर्षीय बालकको मुद्दा मुल्तवीमा राखी कारवाही अघि बढाउने फैसला गरेको हो ।

फैसलामा पीडितलाई कसुरदारहरूबाट २ लाख रुपियाँ क्षतिपुर्ति भराउनेसमेत आदेश दिइएको छ । कसुर ठहर गरिएका कसुरदारहरू बालक नै रहेकाले १८ वर्ष नपुगुञ्जेल कैद भुक्तानका लागि बालसुधारगृहमा पठाउने आदेश दिइएको अदालतका नायवसुब्बा कमला निरौलाले जानकारी दिइन् ।

१६ वर्ष माथिकाको हकमा बलात्कारको कसुरमा नौ वर्ष र सामूहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १४ वर्ष कैद हुने कानुनी व्यवस्था भएपनि कसुरदारहरू बालक रहेकाले कानुन बमोजिम पूर्ण सजायको दुई तिहाईको फैसला सुनाइएको हो । त्यसैगरी १५ वर्षका हकमा भने पूर्ण सजायको आधा हुने कानुनी व्यवस्था बमोजिम सजाय सुनाइएको हो ।

पीडित बालिकालाई ०७४ भदौ १५ गते कटारी नगरपालिका–४ फुटवल मैदानमा बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ १६ इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते कटारी अस्पतालमा गरिएको थियो । उजुरी परे लगत्तै गिरफ्तार भएका उनीहरूलाई अदालतले ०७४ असोज २३ गते पुर्पक्षका लागि कारागार र बालकको हकमा बालसुधारगृह पठाउने आदेश दिएको थियो ।

अन्य

भिडियो