बन्दको अवज्ञा गरेको आरोपमा असोज १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुको साथै कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार गरिएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरूलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आफूहरूले असोज १६ गते बन्दको आयोजना गरिएको भए पनि सरकारी वकिल कार्यालयका कर्मचारीहरूले कार्यालय खोलेका कारण तोडफोड तथा हातपात गरिएको नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले बताएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरू एक्कासी कार्यालय भित्र आएर कार्यालयमा रहेको बा २ झ २७१५ नम्बरको जीप, कार्यालयमा रहेका दुई ओटा कम्प्युटर, दुई ओटा ढोका तोडफोड गर्नुका साथै कार्यालयमा काम गरिरहेका कर्मचारीहरू नासु कृष्ण भट्ट, कम्प्युटर अपरेटर मञ्जु भट्ट, कार्यालय सहायक धनवीरसिंह भाट र सवारी चालक यज्ञराज जोशीमाथि हातपात तथा दुर्व्यवहार गरेको जिल्ला न्याधिवक्ता खेमराज भट्टले बताए ।
तोडफोडबाट जीपको सिसा, कम्प्युटर र ढोकामा क्षति पुगेको छ । जिल्ला न्यायाधीवक्ता भट्टले सरकारी वकिल कार्यालयको जीप, कार्यालय र कर्मचारीमाथि कुटपिट गर्नेविरूद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले सरकारी कार्यालय, सवारीसाधन र कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिहरूको खोजी भइरहेको बताए ।


