सदरमुकाम दमौलीमा रहेको सरकारी अस्पताल दमौली अस्पतालमा पाँच महिनादेखि प्रसूति सेवा ठप्प रहेको छ ।
अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पवनजङ्ग रायमाझीको गत वैशाखमा सरूवा भएसँगै सो अस्पतालमा प्रसूति सेवा ठप्प भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका रायमाझीको इलाम जिल्ला स्वास्थ्य कार्यालयमा सरूवा भएपछि अस्पतालमा स्त्री रोग तथा प्रसूति सेवा अवरूद्ध भएको अस्पतालकी चिकित्सक डा. सिर्जना शर्माले बताइन् ।
दमौली अस्पतालमा प्रसूति सेवा अवरूद्ध भएपछि हाल सामान्य प्रसूतिको लागि पनि पोखरा जानु पर्ने बाध्यता भएको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कला पुनले बताइन् ।
आपूmहरूले केही दिनअघि अस्पतालका अध्यक्षलाई भेटेर स्त्री रोग तथा प्रसूति विशेषज्ञको व्यवस्था गर्न अनुरोध गरेपनि सुनुवाइ नभएको अध्यक्ष पुनले बताइन् । दमौली अस्पतालमा यसअघि दैनिक दुई जनाको दरले प्रसूति गराइने अभिलेख रहेको अस्पतालका प्रशासन प्रमुख विजय सुवेदीले बताए ।
दमौली अस्पतालमा प्रसूति सेवा लिन तनहुँ , लमजुङ र गोरखाबाट समेत महिलाहरू आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अहिले उक्त तिन जिल्लाका महिलालाई सुत्केरी गराउने क्रममा अप्रेशन गर्नु पर्ने अवस्था भए पोखरा लानु पर्ने बाध्यता रहेको प्रशासन प्रमुख सुवेदीले बताए ।
रायमाझीको सरूवा भएपछि सो अस्पतालमा डा. रामकुमार श्रेष्ठ प्रमुखको रूपमा सरूवा भएर आएपनि लगत्तै उनको बढुवा र सरूवा भएपछि तीन महिना यता जिल्ला स्वास्थ्य कार्यालय र दमौली अस्पतालमा प्रमुखको दरबन्दी पनि रिक्त भएको छ ।
यसअघि सङ्घीय सरकार मातहत रहेको दमौली अस्पताल हाल भने प्रदेश सरकार मातहत रहेको छ । प्रदेश सरकार मातहत रहने भएपछि अस्पताल विकास समिति पनि विघटन भएको र हाल नयाँ समिति गठन नहुँदा कर्मचारी र स्वाथ्यकर्मीहरू अन्यौलमा रहेको प्रशासन प्रमुख सुवेदीले बताए ।
अस्पतालको प्रमुख र विकास समितिको अध्यक्ष दुवै नहुँदा आर्थिक कारोबार र महत्वपुर्ण निर्णयमा समस्या भएको पनि उनले बताए ।