INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सुरक्षा तथा कारवाहीको माग गर्दै धनगढीका मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडविरूद्ध असोज ११ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ ।

प्रदेश ७ को राजधानी र नामाकरणका लागि गठित विशेष संसदिय समितिले स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव असोज ९ गते प्रदेश सभामा पेश गरेपछि उक्त प्रस्तावको विरोधमा असोज १० गते आयोजित आमहड्तालको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ओडले सांसद भवनमा आगो लगाउने र सांसदहरूले नैतिकताको आधारमा २४ घण्टाभित्र धनगढी छोड्नु पर्नेलगायतका विवादस्पद अभिव्यक्ति दिएपछि शान्ति सुरक्षाको तथा मेयरमाथि कारवाहीको माग गर्दै सत्ता पक्षका २२ जना प्रदेश सभा सदस्यले जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएका हुन् ।

मेयर ओडको अभिव्यक्तिको विरोधमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभाका सदस्य लिलाधर भट्ट, प्रेमप्रकाश भट्ट, महेशदत्त जोशी, हर्कबहादुर कुँवरसहितका २२ जना प्रदेश सभाका सदस्यहरूले सुरक्षाको माग गर्दै उजुरी दिइएको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।
उमहानगरपालिकाका मेयर जस्तो पदमा बसेका व्यक्तिले सत्ता पक्षका प्रदेश सभा सदस्यहरूको घर खोजीखोजी आगो लगाएर मार्न र भौतिक आक्रमणका लागि निर्देशन दिइएको भन्ने व्यहोराको उजुरी आफूकोमा आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

उजुरी कर्ताहरूले मेयर ओडले दिइएको अभिव्यक्तिको अडियो, भिडियो र पत्रपत्रिकामा छापिएका समाचारहरू प्रमाणको रूपमा जिल्ला प्रशासन कार्यालयमा पेश गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।

मेयर ओडले भने विज्ञप्ति निकाल्दै आफूले आक्रोशमा आएर त्यस्तो भनेको भन्दै माफी मागेका छन् । उनले दुई तिहाइको बलमा प्रदेशको राजधानी बनमास्ने गरी गोदावरी राख्ने प्रस्ताव आएकोले आक्रोशमा त्यस्ता शव्द आफ्नो मुखबाट निक्लेकोमा आत्मआलोचना गर्दै सच्याउने उल्लेख गरेका छन् । उनले आफू गोदावरी राजधानी सार्ने प्रस्तावको जहिले पनि विरोध मै रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अन्य

भिडियो