भङ्गहा नगरपालिकाका लेखापाल पवन अधिकारीलाई सोही नगरपालिकाका मेयर २९ वर्षीय सञ्जिव साहले असोज ११ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कार्यालयमा हर हिसावका विषयमा सामान्य विवाद भएपछि मेयर साहले आफूलाई थप्पड हानेको पीडित लेखापाल अधिकारीले बताए ।
उनले भने–‘ममाथि मेयरले हातपात र दुर्व्यवहार गरे । यसबारेमा मैले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी पनि गराइसकेको छु । अब मेयर साहमाथि कारबाहीका लागि प्रशासनमा लिखित निवेदन दिन्छु ।’
मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४/०७५ को हिसाव माग्दा उल्टै धम्काएपछि एक थप्पड हानेको स्वीकार गरेका छन् ।
उनले पटकपटक हिसाब माग्दा नदिएपछि गत साउन ११ गते आफूले निवेदन समेत दिएको तर, कुनै वास्ता नगरेको बताए । उनले हिसाब बारे कुरा गर्दा ‘तपाइँलाई जे गर्नुछ गर्नुस्’ भनेपछि आवेशमा आएर एक थप्पड हानेको बताए ।
मेयर साहले लेखापाल अधिकारीको काम कारवाही ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाए । मेयर साहले यसअघि पनि एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको थियो ।