विनाशकारी भूकम्पले ध्वस्त भएको जिल्ला अस्पताल अझै पुनःनिर्माण नहुँदा बिरामीहरूले सास्ती ब्यहोर्नु परेको छ ।
सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्षको आक्रमणले ध्वस्त भएपछि ०६७ सालमा शान्ति मन्त्रालयले निर्माण गरेको सुविधा सम्पन्न चौतारा अस्पताल ०७२ सालको विनाशकारी भूकम्पले पुरै ध्वस्त बनाएको थियो ।
१५ शैया क्षमता भएको चौतारा अस्पतालले भूकम्पपछि तीन महिनासम्म चौतारास्थित टुँडिखेलमा पालमुनी राखेर बिरामीहरूको उपचार गरेको थियो ।
भूकम्पले ध्वस्त भएको सुविधा सम्पन्न भवन पुनःनिर्माण नहुँदा दाताले बनाइदिएको प्रिफेबको अस्थायी भवनमा राखेर बिरामीहरूको उपचार गरिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर पोमावती थापा बताउँछिन् ।
डा.थापाका अनुसार बिरामीहरूलाई राख्ने पर्याप्त ठाँउको अभावले बिरामीहरू खचाखच गरी राख्नु परेको छ । साँघुरो कोठामा खचाखच बिरामी राखिँदा बिरामीहरू सकसमा परेको बिरामी कुरुवाको गुनासो रहेको छ ।
अस्पतालको भवन पुनःनिर्माणका लागी ठेकेदार कम्पनीलाई दिइने स्वास्थ्य मन्त्रालयको योजना भएपनि हालसम्म काम सुरू नभएको प्रमुख डा. थापाले बताइन् ।







