इन्सेकद्वारा सहयोग गरिएकी फिदिम नपा-२ की २२ वर्षीया बसन्ती देवानले २४ वर्षीय पति किशोर तुम्बापोविरूद्ध जिल्ला अदालतमा दायर गरेकी माना चामल र सम्बन्ध विच्छेद मुद्दाको फैसला असोज ९ गते भएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले वादी पक्षकी पीडित महिलाको माग अनुसार अभियोग दावी पुग्ने फैसला गरेको हो ।
फैसला अनुसार आरोपित प्रतिवादी तुम्बापोवाट माना चामल बापत मासिक ४ हजारका दरले १५ महिनाको ६० हजार रुपियाँ र अंश बापतको सम्पति पीडितलाई भराउनुका साथै दम्पतीबीच सम्बन्ध विच्छेदसमेत हुने अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।
पतिले घरेलु हिंसा गर्नुका साथै खान लाउन समेत नदिएको भन्दै पीडितले ०७४ भदौ १० गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा कानुनी परामर्श र आवश्यक सहयोगका लागि निवेदन दिएकी थिईन् ।
पीडित महिलाको निवेदन अनुसार इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले मानव अधिकारकर्मी, न्यायाधिवक्ता, जनप्रतिनिधिको रोहवरमा दुवै पक्षबीच दुई पटक छलफल गराएका थिए ।
छलफलबाट दुवै पक्षको मेलमिलाप नहुने भएपछि इन्सेक प्रतिनिधि बेघाले न्यायाधिवक्ता टिका तिम्सिनाको सहयोगमा जिल्ला अदालतमा भदौ २६ गते माना चामल र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका थिए ।
अदालतबाट न्याय पाएकोमा खुशी हुँदै पीडित महिलाले सहयोग गर्ने संस्था प्रति आभार व्यक्त गरिन् । ‘दिनानुदिन अन्याय सहनु भन्दा आफ्नो अधिकार खोज्न आएँ । अदालतले न्याय दिलाएकोमा खुशी छु ।’-पीडित महिलाले भनिन्-‘यसका लागि सहयोग गर्ने इन्सेकप्रति आभारी छु’ ।
महिला माथि हुने हिंसा अन्त्यका लागि स्वयम् महिलाहरूको जागरुकता र अन्य समुदायको सहयोगबाट महिला हिंसा अन्त्य गर्न सकिने मानव अधिकारकर्मी प्रेम ओझाले बताए ।