कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ ।
भदौ २६ गते राति सुतिरहेको अवस्थामा एसिड आक्रमणमा घाइते भई उपचाररत दासको असोज ७ गते राति ११ बजेर ४० मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न’ (गम्भीर जलेको) भनिन्छ ।
मेडिकल भाषामा ‘सेप्सिस’ (सङ्क्रमण) अवस्थामा रहेकी सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छाडेपछि राति उनको निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजङ्ग बस्नेतले जानकारी दिए ।
शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ । बालबालिकाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिने चिकित्सकको भनाई छ ।
एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अझ सम्वेदनशील हुन्छ । अस्पताल पुर्याउनुअघि आइसले शरीर चिस्याउनेलगायतका काम गर्न नसकेमा उपचार प्रभावकारी नहुने चिकित्सकले बताए ।
चिकित्सकका अनुसार सम्झनाको अनुहार, टाउको, छाति, ढाड, हातलगायतका अङ्ग जलेका थिए ।
सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य बन्दै आएको छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
दिदीबहिनीलाई सुतेकै ठाउँमा एसिड हानिएको थियो । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
रौतहट चन्द्रपुर नपा-६, ठोक टोलकी मृतक सम्झनाको असोज ८ गते त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ ।
सम्झनाले स्थानीय जनज्योति माविमा ७ कक्षासम्म पढेकी थिइन् । पारिवारिक द्वन्द्वका कारण उनले थप पढ्न नपाएको स्थानीय सन्तोषी साहले बताइन् ।
पारिवारिक द्वन्द्वसँगै पीडितहरूकी आमा धनमाया मोक्तान लामाले २ वर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् भने बुबा जादोलालले ०७४ जेठमा महोतरीकी परमशिलादेवी दाससँग विवाह गरेका थिए । सम्झनाकी बहिनी सुस्मिता भने ६ कक्षामा अध्ययनरत छिन ।
खाना खाएर एउटै ओछ्यानमा सुतिरहेका दिदीबहिनी माथि राति १२ बजे उनीहरूकै ४५ वर्षीय छिमेकी रामबाबु पासवानले एसिड आक्रमण गरेको पीडतका बुवा जादोलाल दासले आरोप लगाएका छन् ।
पीडित परिवारले दिएको किटानी उजुरीका आधारमा रामबाबुलाई असोज १ गते कीर्तिपुर अस्पताल परिसरबाट गिरफ्तार गरी असोज २ गते रौतहट प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।