तुर्माखाँद गाउँपालिका-४ का ६ महिनाका मुस्कान वयकको शरीरमा एसिड खन्याएपछि असोज ३ गते मृत्यु भएको छ । असोज २ गते दिउँसो घरमा सुतिरहेका बालकलाई २१ वर्षीया काकी जानकी वयकले एसिड खन्याएपछि उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बर्दिया राष्ट्रिय निकुञ्जनजिक मुस्कानको मृत्यु भएको प्रहरीले जनायो ।
मृतकका बुवा महाविर वयकले छोराको हत्या गरेको आरोपमा भाइबुहारी जानकीविरूद्ध असोज ३ गते प्रहरीमा किटानी उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन घरबाटै गिरफ्तार गरी मङ्गलसेन ल्याएको थियो ।
घरयासी विवादका कारण बालकलाई एसिड खन्याएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।
मृतक बालकका आमाबुवा घर बाहिर रहेको अवस्थामा असोज २ गते बिहान ११ बजेतिर घरमै आएर बालकको मुख, आँखा र कानमा एसिड खन्याएको आरोपितले स्वीकार गरेको प्रहरी प्रमुख शाहीले जानकारी दिए । शवको पोष्टमार्टम आसोज ३ गते जिल्ला अस्पताल मङ्गलसेनमा गरिएको छ ।