जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले महिला हिंसाको मुख्य कारक मदिरा भएको बताएका छन् ।
संकल्पको सहयोगमा दलित महिला सङ्घको आयोजना तथा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा असोज २ गते दैलेख सदरमुकाममा गरिएको सार्वजनिक परामर्श कार्यक्रममा थापाले उक्त धारणा राखेका हुन् ।
प्रमुख थापाले संविधानमा महिलाको अधिकार थुप्रै समेटिएको भएपनि सामाजिक सचेतनाको अभावमा महिला हिंसामा अपेक्षाकृत सफलता नमिलेको बताए । उनले भने–‘विशेष गरी विपन्न समुदायमा सचेतना जरूरी छ ।’
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले महिला हिंसा अन्त्य गर्न ग्रामीण क्षेत्रका महिलालाई जागरुक बनाउनुपर्ने धारणा राखे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न प्रहरी सजग रहेको बताउँदै दोषीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।
नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले जिल्लामा महिला हिंसा अन्त्य गर्न तथा अधिकार संरक्षण गर्न सामाजिक अभियान्ताहरू एक जुट भएर लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अधिवक्ता गोपाल नेपालीले बालविवाह र बहुविवाहको घटनाका आरोपितलाई राजनीतिक दलहरूको दबाबमा मेलमिलाप गराउँदा समस्या बढेको आरोप लगाए । उनले स्थानीय तहमा गठित न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।
महावु गाउँपालिका–६ का वडा सदस्य दलबहादुर बिकले दलित महिला र बालबालिकाहरूको अधिकारका अभियानहरू ग्रामीण समुदायमा लैजानुपर्ने सुझाव दिए ।

