सवैला नपा–१२ का ठकाई चमारले चार वर्षीय नाती डेविसकुमार चमारको जन्मदर्ता बनाउन सिफारिस लिन भदौ २९ गते जाँदा वडा अध्यक्ष प्रदिप महतोले आनाकानी गरेको भन्दै पीडितले इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।
बालकका हजुरबुवा ठकाइ चमार वडा कार्यालय पुगी नातिको जन्म दर्ता बनाउन वडा अध्यक्षलाई अनुरोध गर्दा विवाह दर्ता र बुहारीको नागरिकता पेश गरेपछि मात्र बालकको जन्मदर्ता बनाउन वडा सचिवलाई आदेश दिने बताएपछि ठकाइ घर फर्केका थिए ।
बालकको बुवा वैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेकाले बालकलाई तत्काल जन्मदर्ता दिन नमिल्ने वडा अध्यक्ष महतोले इन्सेक प्रतिनिधिलाई जानकारी दिए ।
यसअघि ती बालक जन्मेको केही दिनपछि जन्मदर्ता बनाउन गएका बेला बालकको काका उमेश महरालाई घरमा शौचालय बनाएपछि मात्र जन्मदर्ता बनाइ दिने भनी तत्कालिन गाविस रघुनाथपुरका प्राविधिक भिषण राउतले फर्काएका थिए ।
हाल घरमा शौचालय भएको कार्ड, बालकको बुवाको नागरिकता, आमाको जन्म प्रमाणित भएका गाउँपालिकाको सिफारिस र सूचकको लागि बालकको हजुरबुवाको नागरिकताको प्रतिलिपि सहितका प्रमाणहरू समेत पेश गरेपनि वडा अध्यक्ष महतो र वडा सचिव भिषण राउतले जन्मदर्ता नबनाइ दिएको पीडित पक्षको आरोप छ ।
आफू दलित समुदायको भएकाले दलित समुदायका बालबालिकाले सरकारबाट पाउने भरणपोषण भत्ता नपाओस् मनसाय बोकी जातीय विभेदको नजरले दलित भएकै कारण जन्मदर्ता बनाउन अनाकानी गरेको पीडित पक्षको आरोप छ ।
नाती चार वर्ष हुन लागेकोले विद्यालय भर्नाका लागि जन्मदर्ताको बनाउन वडा कार्यालय गएपनि बालकको बुवा वडा कार्यालय उपस्थित हुनु पर्ने, विवाहदर्ता र नागरिकता पेश गर्नु पर्ने भन्दै फर्काएको बालकका हजुरबुवा ठकाइ चमारले बताए ।
संविधानको धारा ३९ मा मौलिक हक अन्र्तगत प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको जन्मदर्ताको हक हुनेछ भनी स्पष्ट व्यवस्था हुँदा हुँदै पनि वडा अध्यक्ष महतोले विभिन्न बहानामा जन्मदर्ताबाट वञ्चित गराउने मनसाय देखिएको पीडित पक्षले दुःख व्यक्त गरे ।
बालक डेविसकुमार महराको जन्म ०७१ मङ्सिर ६ गते साविक रघुनाथपुर गाविस–४ मा भएको हो । बुवा धिरेश महरा तीन वर्षदेखि वैदेशिक रोजगारीको क्रममा सउदी अरबमा छन् ।