१३ वर्षीया बालिकालाई बलात्कार गरेको आराोपमा प्रहरीले देउमाई नगरपालिकाका नौ जनालाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार भएकामध्ये देउमाई नगरपालिका–९ का चितवीर लावुङको मात्र नाम सार्वजनिक गरिएको छ । बाँकी आठ जनाको नाम प्रहरीले सर्वजनिक गरेको छैन ।
पीडित बालिका गर्भवती भएको थाहा भएपछि अभिभावकले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा ११ जनाविरूद्ध उजुरी दिएका छन् । उजुरी दिएकामध्ये अब दुई जनालाई गिरफ्तार गर्न बाँकी रहेकाले अनुसन्धानका लागि उनीहरूको नाम सार्वजनिक नगरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।
बालिकाको गर्भपतन गराउन जिल्ला बाल कल्याण समितिले सिफारिस गरेपनि आठ महिनाको गर्भ भइसकेकाले गर्भपतन गराउन नमिल्ने डाक्टरले बताएको प्रजिअ तिम्सिनाले जानकारी दिए ।
पीडित बालिकालाई आपतकालिन आवासगृहमा राखिएको छ । गिरफ्तार गरिएकाहरूविरूद्ध भदौ २३ गते नै जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको प्रजिअ तिम्सिनाले बताए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको बताइएको छ ।