सदरमुकाम मार्तडी जोड्ने सडकको साँफे मार्तडी सडकखण्ड लगातारको वर्षाले दुई महिनादेखि अवरूद्ध भएपछि बाजुरामा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ ।
लगतारको वर्षाले दुई महिनासम्म यातायात चल्न बन्द भएपछि दैनिक उपभोग्य सामग्रीको हाहाकार भएको छ । सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक अन्र्तगत पर्ने बुढीगङ्गा नगरपालिकाको बाम्का, गुईगाड, बल्दे, द्वारी हुँदै बडिमालिका नगरपालिकाको विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरूद्ध भएको हो ।
यातायात बन्द हुँदा बडिमालिका नगरपालिका, गोमूल गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामी कार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा दैनिक उपभोग्य सामग्रीको हाहाकार भएको मार्तडीका व्यापारीहरूले बताएका छन् ।
सधैँका वर्ष कच्चि सडकका कारण हिउँदमा मात्र यातायात चल्ने सडकखण्ड यो वर्ष मात्र मार्तडीसम्म कालोपत्रे गरिएको थियो । ‘सडक कालोपत्रे गरेपछि दैनिक उपभोग्य वस्तु जगेडा राखिएन । यसै वर्ष बाढीले सडक तहसनहस बनाएर दैनिक उपभोग्य वस्तुको हाहाकार भयो ।’–उद्योग वाणिज्य सङ्घका अध्यक्ष देबबहादुर रोकायाले भने ।
चामल, दाल, ग्यास, तरकारी, पिठोलगायतका दैनिक उपभोग्य वस्तुको बढी अभाव भएको सिंह ब्रदर्सका सञ्चालक हंशबहादुर सिंहले बताए ।
लगातार पानी परिरहेकोले तत्काल सडक खुलाउन पनि अप्ठेरो भएकाले पानी कम हुने बितिक्कै सडक सञ्चालनको लागि सडक डिभिजनसँग कुरा भइरहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
जिल्लामा रहेको नेपाल खाद्य संस्थानमा समेत चामल र गहुँ सकिएर खाद्य गोदाममा ताला गाएर बस्नु परेको नेपाल खाद्य संस्थानका निमित्त कार्यालय प्रमुख मेखराज ओझाले जानकारी दिए । सडक अवरूद्ध भएसँगै बिरामीहरू समेत मारमा परेका छन् ।
जिल्लामा उपचार हुन नसकेर जिल्ला बाहिर रिफर गर्नु पर्ने बिरामीहरू बढी मारमा परेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।