INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएकाहरूको तत्काल स्थिति सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका परिवारले आफ्ना बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा राज्यले तत्काल स्थिति सार्वजनिक गर्नु पर्ने माग राखेका छन् ।

०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा ६० दिन भित्र जानकारी गराउने राज्यले उल्लेख गरेको भएपनि हालसम्म कुनै जानकारी नदिइएको पीडितहरूले गुनासो गरेका छन् ।

बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको (३० अगस्ट) अवसरमा सरकारले बेपत्ता व्यक्तिको बारेमा कुनै जानकारी नदिएर आफूहरूलाई थप पीडा दिएको बेपत्ता पारिएका व्यक्तिका परिवारहरूको आरोप छ ।

कमलबजार नपा–३ मुलीका बेपत्ता परिवारका सदस्य जक्तिराम बजगाईले सरकारले समयमै जानकारी नदिँदा आफूहरू दोधारमा रहेको बताए । ‘हामीले काजक्रिया समेत गर्न पाएका छैनौं ।’–बजगाइले भने ।

मङ्गलसेन नपा–४ का ललित केसीले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । ‘मेरो काका ०५४ सालमा बेपत्ता पारिए । आयोगले प्रमाण माग्यो । मैले कसबाट प्रमाण ल्याउनु ? मान्छे बेपत्ता पारिएको छ भनेपछि आयोगले द्वन्द्वका क्रममा बेपत्ता नभएको पत्र पठायो ।’–केसीले भने । सरकारले छानविन आयोग गठन गरेर बेपत्ताको छानविनमा टालटुल गर्न लागेको समेत उनको आरोप छ ।

शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा समेत आपूmरूहरूले राहत नपाएको बेपत्ता पारिएका व्यक्तिका परिवारले गुनासो गरे । ‘कानुनले बेपत्ता भएको प्रमाण ल्याउ भन्छ । बेपत्ता बनाउनेहरू बोल्दैनन् ! कसरी प्रमाण ल्याउने ? बेपत्ता परिवारहरू प्रमाण नभएकै कारण राहतबाट पनि वञ्चित भएका छन् ।’–नागरिक समाजका अध्यक्ष शङ्कर रावलले भने ।

सङ्घीय सरकारले नभए स्थानीयतहले समेत कानुन बनाएर बेपत्ता परिवारलाई राहतको व्यवस्था गर्न सकिने नेपाल रेडक्रस सोसाइटी, अछामका सभापति रत्नप्रसाद ढुङ्गानाले बताए । रेडक्रसको अन्र्तराष्ट्रिय संस्था आइसीआरसीले अछाम जिल्लामा १४ जना बेपत्ताको सूचीमा राखेको छ भने इन्सेकको अभिलेखमा तीन जना बेपत्ता पारिएको उल्लेख छ ।

तत्त्कालीन स्थानीय शान्ति समितिमार्फत बेपत्ता छानविन आयोगमा ५४ वटा उजुरी परेका छन् । बेपत्तामध्येमा १० जनाले ५ लाख रुपियाँका दरले राहत पाएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए ।

अन्य

भिडियो