INSEC Online

📅 २०८३ जेष्ठ २१

थाइलैण्ड हिँडेका माओवादीका पूर्व बालसेना विमानस्थलबाटै रोकिए

बैङ्ककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका काभ्रे स्थायी घर भएका पूर्वमाओवादी बाल लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेर फर्काएको छ ।

भदौ ८ गते शुक्रबार आरए ४०१ फ्लाइटमा बैङ्कक जान लागेका काभ्रेका युवा लेनिन विष्टलाई विभागले रोकेको हो।

विष्टका अनुसार सुरूमा विभागले राहदानीमा छाप लगाएर पठाइसकेको थियो। पुनः बोलाएर पासपोर्ट खोसेर प्रस्थान रोकेको हो।

इन्सेक अनलाइनसँग कुरा गर्दै विष्टले भने(‘तपाईंको केही कागजात बुझ्नु छ भनी पासपोर्ट मागे र मलाई एक घण्टा कुराएर प्रस्थान रद्ध गरेको छाप लगाए।’ उनका अनुसार उक्त कार्यक्रममा गएर बाल सैनिकको आवाज उठाउँछ भनेर फिर्ता गरेको हुनसक्छ ।

आफ्नो उडान रद्ध गरिएकोबारे लेनिनले जानकारी मागेपछि अध्यागमन विभागले लेनिनलाई अस्थायी कालोसूचीमा राखेको जनाएको छ ।

उनलाई प्राप्त चिठीमा जुन कार्यक्रमका लागि भनी जान लागेको त्यसमा नेपाल सरकारको सिफारिस वा स्वीकृति नदेखिएकाले प्रस्थान अनुमति नदिएको उल्लेख गरिएको छ।

‘म एउटा सामाजिक अभियनता हुँ । मेरो कुनै पनि किसिमको आपराधिक पृष्ठभूमि थिएन, फेरि म कुनै संस्थाको कार्यक्रममा जान लाग्दा नेपाल सरकारको सिफारिस पनि चाहिने थिएन ।’-उनले प्रतिक्रिया दिए ।

पाँच कक्षा पढ्दापढ्दै ११ वर्षको उमेरमा माओवादी युद्धमा लागेका होमिएका लेनिन बाल सेना हुन्। २०५९ सालमा उनी माओवादी बाल सेनाका रूपमा भर्ती भएका थिए ।

शान्ति प्रक्रिया सुरू भएपछि संयुक्त राष्ट्रसंघको मिसन अनमिनले प्रमाणिकरण गर्दा उनी बाल सेना भनेर शिविरबाट फिर्ता पठाएको थियो ।

अन्य

भिडियो