INSEC Online

📅 २०८३ जेष्ठ २१

कविताले नगरपालिकाको न्यायिक समितिबाट न्याय पाइन्

राजविराज नपा-७ की २५ वर्षीया कविताकुमारी साहलाई विवाहको तीन वर्षपछि भदौ ५ गते अधिकारकर्मी, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिले प्रहरीको सहयोगमा घर भित्र्याइएको छ ।

राजविराज नगरपालिकाको न्यायिक समितिबाट भदौ ५ गते पीडितलाई इज्जतआमद अनुसार पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी गरेपछि सोही साँझ उनलाई घर भित्र्याइएको हो ।

पीडितका ३२ वर्षीय पति छोटु भनिने राजिव दास, सासू ५५ वर्षीया मञ्जुदेवी साह र जेठाजु ३५ वर्षीय पङ्कज साहले ०७४ चैत २४ गते कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले न्यायिक समितिमा ०७५ वैशाखमा उजुरी दिएकी थिइन् ।

प्रेमविवाह गरेका पीडित र राजिबबीच जिल्ला अदालतबाट ०७२ पुस २४ गते पति-पत्नीको नाताकायम समेत गरिएको छ । घरपरिवारले अस्विकार गरेपछि पछिल्लो समय दबाबमा परेका पीडितका पति हाल घर छाडेर हिँडेका छन् ।

आरोपित पङ्कज र मन्जुले भने विवाह भएको जानकारी आफूहरूलाई नभएको र पीडितलाई घरमा राख्न आफूहरू तयार नभएको बताउँदै आएका छन् ।

नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्वाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजले भदौ ५ गते राति १० बजेसम्म आरोपितहरूलाई सम्झाए पनि बुहारी स्वीकार्न तयार नभएका मञ्जु र पङ्कज सहमतिमा नआएर घर छाडेर हिँडेका छन् ।

अन्य

भिडियो