INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले विद्यालय बगाएपछि अनिश्चितकालका लागि पठनपाठन अबरूद्ध

उत्तरी म्याग्दीको कोप्चेपानीमा रहेको धवलागिरी आधारभुत विद्यालय भवन कालिगण्डकी नदीले बगाउँदा सो विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका-४ कोप्चेपानीस्थित कालिगण्डकी किनारमा रहेको सानो बस्ती र सोही बस्तीका विद्यार्थीले पढ्ने धवलागिरी आधारभूत विद्यालयको भवन साउन ३० गते बिहान कालीगण्डकीले बगाएको हो ।

कालीगण्डकी नदीले ६ कोठे भवन बगाएकाले आगामी केही दिन पठनपाठन अबरूद्ध हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताएका छन् । कक्षा तीनसम्म पठनपाठन हुने सो विद्यालयमा हाल १५ जना विद्यार्थी अध्ययनरत छन् ।

निरन्तरको वर्षातका कारणले उर्लेको कालीगण्डकीको बाढी आफ्नो नियमित धार भन्दा करिब ४० मिटर बस्तीतर्फपसेको छ । केही दिन अगाडिदेखि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान सुरू गरेको स्थानीयको भनाइ छ ।

बाढीको कटानले गर्दा हिमाल पारिको जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ । अध्यक्ष फगामीले विद्यालयको भवन बगाएपछि अहिले विद्यार्थीको पढाइ प्रभावित भएको र कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको बताए ।

विद्यालयकी प्रधानाध्यापक शान्ति राम्जालीका अनुसार विद्यालयको ६ कोठे भवन र नजिकै रहेको आमा समूहको दुई कोठे भवन समेत बाढीले बगाएको छ ।

सो गाउँका विद्यार्थीहरूलाई पढ्न जानका लागि नारच्याङ्ग आधारभूत विद्यालय पुग्न दुई घण्टा लाग्छ भने अर्को विद्यालय ज्ञानप्रकाश मावि दाना पुग्न पनि दुई घण्टा लाग्ने भएकाले अध्ययनमा समस्या देखिने भएको छ ।

वर्षातका कारणले सडकमा आएको अवरोधले गर्दा जिल्लास्थित सुरक्षा निकाय र शिक्षा समन्वय इकाईको टोली यो समाचार तयार पार्दासम्म घटनास्थल पुग्न सकेको छैन ।

अन्य

भिडियो