INSEC Online

📅 २०८३ जेष्ठ २१

निगरानी समूहको नेतृत्वपछि विकास निर्माणले सार्थकता पायो

मानव अधिकार निगरानी समूहको पहल र नेतृत्वपछि यहाँको विकास निर्माण प्रक्रियाले सार्थकता पाएको छ ।

इन्सेकद्वारा इएलपी कार्यक्रम सञ्चालित बगनासकाली गाउँपालिको वडा नं. ७ खानीगाउँ र वडा नं. ९ चापपानीको चिलाङदी राम्दी सडकको ओटासिल कार्यमा मानव अधिकार निगरानी समूहले नेतृत्व गरेको थियो ।

विश्व बैङ्कको ७ करोड ५१ लाख रूपियाँ सहयोगमा मालारानीबाट गरनडाँडासम्मको ७ किलोमिटर मोटरबाटोको डबल ओटासिलका लागि जयरक्तकाली निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

मानव अधिकार निगरानी समूहले जिल्ला स्तरमा निगरानी समूह गठन भएकै दिन (२०७४ पुस १५ गते) स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेसहित प्रमुख जिल्ला इञ्जिनियर निर्मल प्याकुरेललाई भेटी निर्माण कम्पनीले बाटो निर्माणको काम लिएपनि काम सुरू नगरेपछि यसबारे जिल्ला स्तरमा ध्यानाकर्षण गराउँदै आएको थियो ।

बाटो निर्माणका लागि जिल्ला प्राविधिक कार्यालय पाल्पा र निर्माण कम्पनीबीच ०७४ पुस २२ गते १८ महिने म्याद सकिएपछि दोस्रो चरण अन्तर्गत ०७५ असार १६ गते सम्मका लागि म्याद थप गरिएको थियो ।

यसअघि ०७४ पुस १५ गते जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पहलमा जिल्ला समन्वय समितिका प्रमुख दयराज बस्याल, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, प्रमुख जिल्ला इञ्जिनियर निर्मल प्याकुरेलसहित निर्माण व्यवसायी रामप्रसाद भट्ट समेतको सहभागितामा जिल्लास्तरीय बहस संवादको आयोजना गरिएको थियो ।

संवादमा मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीले मोटरबाटोको स्तरोन्नतीको काममा भइरहेका बाधा व्यवधानहरू र त्यसको समाधानमा सरोकारवालाहरूको भूमिका विषयमा संवाद गराएका थिए ।

०७४ माघ १४ गते बसेको बाटो उपभोक्ताहरूको भेलाले बाटो निर्माणको विषयमा चासो देखाएको, समन्वयकारी भूमिका निर्वाह गर्दै आएको भन्दै जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीलाई नै बाटो उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिएको थियो । भण्डारी अध्यक्ष भएपछि विश्व बैङ्कले वैशाख महिनामा ८१ लाख रुपियाँ पर्खाल र नालीलाई थप गरिदिएको थियो ।

जिल्ला प्राविधिक कार्यालय र निर्माण व्यवसायीबीचको अनविज्ञता, गिट्टी ढुङ्गाको समस्या, निर्माण व्यवसायीको लापरवाहीका कारण बाटोको स्तरोन्नतीको कामले गति पाएको थिएन । उपभोक्ता समितिको बारम्वारको छलफल अन्तरक्रिया र जिल्ला स्तरसम्मको समन्वयपछि बाटो स्तरोन्नतीको कामले गति पाएको हो । मोटरबाटो उपभोक्ता समितिलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पूर्ण रूपमा साथ दिएका थिए ।

अहिलेसम्म मालारानीबाट दरूङ्गा रातमाटासम्मको ५ किलोमिटर बाटोमा ओटासिल कार्य सकिएको छ । वर्षातपछि थप कामले निरन्तरता पाउने अध्यक्ष भण्डारीले बताए । यो बाटोको स्तरोन्नती भएपछि स्थानीयहरू समेत खुशी भएका छन् । अघिल्ला वर्षहरूमा वर्षातमा हिलाम्मे भएर एम्बुलेन्स समेत छिर्न नसक्ने यो बाटोमा अहिले वर्षातको समयमा पनि सहज रूपमा सवारी साधनहरू चलेका छन् ।

मानव अधिकार निगरानी समूहले ध्यानाकर्षण गराउनुकै साथै अध्यक्षको रूपमा निगरानी समूहका संयोजकले नै काम गर्दा आफूलाई काम गर्न थप सहज भएको निर्माण व्यवसायी रामप्रसाद भट्टले बताए ।

अन्य

भिडियो