१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गोलबजार नपा- ५ का ५५ वर्षीय महेन्द्रप्रसाद सिंह कोइरीलाई जिल्ला अदालत सिरहाले साउन २८ गते ६ वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल बसन्त काफ्लेले बताए । उनका अनुसार पीडित बालिकालाई २५ हजार रुपियाँ क्षतिपुर्ति दिनु पर्ने समेत फैसला भएको छ ।
पीडित बालिकालाई कोइरीले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ २६ गते पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित बालिकाको परीक्षण धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २७ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको थियो भने, जिल्ला अदालतको आदेशमा आरोपित असार २० गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।