हत्या घटनाको आरोप लागेका प्रदेश नं. २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष साउन २८ गते आत्मसमर्पण गरेको महोत्तरी जिल्ला अदालतका रजिष्ट्रार रामानन्दप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
सशस्त्र सीमा सुरक्षा बल जलसागरमा कार्यरत असई थमन बिकलाई २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीबाट हत्या गरिएको थियो । सोही मुद्दाका फरार आरोपित शर्माले आत्मसमर्पण गरेका हुन् । उनले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसमर्पण गरेका छन् ।
उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालत समक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले शर्मालाई राज्यमन्त्रीमा सपथ गराएको थियो ।
सपथ लगत्तै उच्च अदालत जनकपुरले उनलाई अदालत उपस्थित हुन र गिरफ्तार गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो । उच्च अदालतको आदेश प्राप्त भएपछि आफू अदालतमा उपस्थित भएको उनले निवेदनमा जिकीर गरेका छन् ।