INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनामा दोब्वर वृद्धि

देशव्यापी रूपमा बलात्कार घटनाहरूमा बृद्धि भएसँगै अर्घाखाँची जिल्लामा पनि अघिल्लो वर्षको तुलानामा बलात्कार तथा बलात्कार प्रयासका घटनामा यो दोब्वर बृद्धि भएको छ ।

जिल्लामा अघिल्लो वर्ष अर्थात ०७३/०७४ मा सात वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएकोमा यो वर्ष ०७४/०७५ मा १८ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख छ भने इन्सेकले पनि उक्त घटनाहरूको अभिलेख गरेको छ । उक्त घटनाहरू जिल्ला प्रहरी कार्यलयबाट आर्थिक वर्ष ०७४/०७५ मा मुद्दा चलिरहेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यलयले बलात्कार घटनाका १५ वटा र बलात्कार प्रयासका घटनाहरूका तीन गरी १८ वटा घटनाहरू दर्ता गरी कानुनी प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनले भने-‘अघिल्लो वर्षको तुलानमा यो दर निकै धेरै हो । बलात्कार तथा बलात्कारका अधिकांश मुद्दाहरूमा पीडित र आरोपित दुवै जना बालबालिकाहरू संलग्न हुनु दुखद् हो । यसको नियन्त्रणका लागि विद्यालय र घर परिवारसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

बलात्कारका अधिकांश घटनामा बालिका पीडित हुने गरेका छन् । घटनाका आरोपितहरू पनि बालकनै रहेका छन् । १८ वटा बलात्कार तथा बलात्काकार प्रयासका घटनामध्ये नौ वटा घटनामा पीडित र आरोपित दुवै बालबालिका नै भएको इन्सेकले गरेको अभिलेखमा उल्लेख छ ।

बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनामा तीन वर्षीया बालिकादेखि ५१ वर्षीया महिलासम्म पीडित भएका छन् ।

स्थानीय तह अनुसार हेर्दा सन्धिखर्क नगरपालिकामा सवैभन्दा धेरै घटनाहरू भएको पाइएको छ । सन्धिखर्क नगरपालिकामा सात, भुमिकास्थान नगरपालिकाका चार, सितगङ्गा नगरपालिकामा चार र मालारानी गाउँपालिकामा तीन वटा घटनाहरू भएका छन् । पाणिनी र छत्रदेव गाउँपालिकामा भने त्यस्ता घटना अभिलेखमा आएका छैनन् ।

सबै घटनाहरू अनुसन्धान र कानुनी प्रक्रियामा गएका छन् । बलात्कार घटनाका एक जना आरोपित फरार रहेकाले घटना अनुसन्धानमै रहेको र अन्य घटनाहरू सबै कानुनी प्रक्रियमा गएको जिल्ला प्रहरी कर्यालयका इन्स्पेक्टर खिमबहादुर घिर्तीले जानकारी दिए ।

बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू निरन्तर सुनुवाइ अन्तर्गतका घटनाहरू भएकाले धेरै मुद्दाहरू फैसला भइसकेको जिल्ला अदालतका श्रेस्तेदार मोहन बेल्वासेले जानकारी दिए ।

अन्य

भिडियो