१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपित धनगढीमाई नपा–७ का २५ वर्षीय सत्यन मण्डललाई एक वर्षपछि इलाका प्रहरी कार्यालय गोलबजारले साउन २७ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर भागिरथ रेग्मीका अनुसार घटनापछि लुकिछिपी बसेका आरोपित गोप्य सूचनाको आधारमा घरमा आएको बखत गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ असार ३ गते बलात्कार गरेको आरोप छ । पीडित बालिकालाई धनगढीमाई नपा–७ का २७ वर्षीय मण्डल र विलक्षण पण्डितले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा ०७४ असार ३ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर भागिरथ रेग्मीका अनुसार विलक्षण फरार रहेकोले खोजतलास भइरहेको छ ।