सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) को अभावमा डेढ महिनादेखि प्रहरीको संरक्षणमा रहेकी सीता नाम बताउने मानसिक सन्तुलन गुमाएकी १७ वर्षीया बेवारिसे बालिकालाई आवश्यक संरक्षण र उपचारका लागि साउन २१ गते कोशिस नेपाल ललितपुरमा पठाइएको छ ।
अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको २५ हजार रुपियाँ सहयोगमा उपचारका लागि ललितपुर बागडोलस्थित कोशिस नेपाल पठाइएको केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडाले जानकारी दिइन् ।
कोशिस नेपालसँग समन्वय गरेर मानसिक रूपमा समस्या भएकी उनलाई तीन महिनासम्म उपचार गर्न त्यहाँ पठाइएको हो ।
०७५ जेठ ३१ गते सडकमा अलपत्र अवस्थामा फेला परेकी बालिकालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयको राजविराजस्थित महिला तथा बालबालिका सेवा केन्द्रको अल्पकालीन आश्रय केन्द्रमा राखिएको थियो ।
‘एकहोरो टोलाइरहने र हाँसिरहने स्वभावकी बालिकाको होस ठेगानामा नहुँदा कोठाभित्रै शौच गर्ने र राति चिच्याउने, ढोकामा हिर्काउने गर्छिन् ।’-इन्स्पेक्टर सुजता तुम्वाहाम्फेले भनिन् ।
उनलाई तत्कालै उपचारको खाँचो भएपनि आफन्तको पहिचान हुन नसकेकाले र सहयोगी संस्थाहरूले जिम्मा नलिएकाले उपचारमा पठाउन डेढ महिना लागेको इन्स्पेक्टर तुम्बाहाम्फले बताइन् ।
नयाँ संरचनाअनुसार जिल्लास्तरमा महिला तथा बालबालिका कार्यालयको अस्तित्व नरहेपछि बन्द भएको सुरक्षित आश्रय सेवा केन्द्र सञ्चालनको जिम्मेवारी स्थानीय तहहरूले लिनुपर्ने अधिकारकर्मीहरूले बताएका छन् ।
सङ्घीय संरचना अनुसार असार मसान्तसँगै जिल्लास्थित महिला तथा बालबालिका कार्यालय बन्द भएपछि हिंसापीडित, बेवारिसे महिलाका लागि सञ्चालन गरिएको सेफ हाउस पनि बन्द भएको छ ।
आश्रय केन्द्रको सेवा बन्द हुँदा अलपत्र र हिंसामा परेका महिलाको आश्रय, संरक्षण र उपचारमा समस्या उत्पन्न भएको एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटाले बताइन् । स्थान अभाव, हेरविचार गर्ने प्रहरी जनशक्तिको कमीले बेवारिसे महिला, बालबालिकालाई धेरै दिनसम्म प्रहरी संरक्षणमा राख्न समस्या हुने गरेको बताउँदै डिएसपी रिमालले अबिलम्व उपयुक्त व्यवस्था हुनुपर्ने बताए ।
अलपत्र अवस्थामा परेका, हिंसामा परेका महिलाहरूको सुरक्षा र आश्रयका लागि सुरक्षित आश्रय केन्द्रको आवश्यकता औल्याउँदै पत्रकार बैद्यनाथ झाले आश्रय केन्द्रको सेवा पुनः सुचारू गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।