वीरेन्द्रनगर नपा–२ की ३२ वर्षीया विमला बुढाले पतिविरूद्ध बहुविवाह को उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरेको भएपनि प्रहरीले सुनुवाइ नगरेको आरोप लगाएकी छन् ।
भवानी बक्स गण अछाममा कार्यरत नेपाली सेनाका जवान गोपालबहादुर वलीले कञ्चनपुर जिल्ला वेदकोट नपाकी लीला कठायतसँग विवाह गरी एक छोरा जन्माइसकेको जानकारी पाएलगत्तै ०७५ असार १० गते उजुरीसहित पतिलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएपनि सुनुवाइ नभएको पीडितको महिलाको आरोप छ । आरोपित गोपालबहादुर वलीले ०७३ वैशाखमा लीलासँग दोश्रो विवाह गरेका थिए ।
‘जिल्ला प्रहरी कार्यालयमा न्याय माग्न निरन्तर एक महिना धाएँ न्याय पाइन । प्रहरीेले उल्टै पतिलाई बिना शर्त छोडिदिए ।’–पीडित बुढाले गुनासो गरिन्–‘राज्यको सुरक्षा गर्ने निकायका व्यक्तिले नै यसरी अपराध गर्दा राज्यको अर्को निकायबाट सुनुवाइ हुँदैन भने अब म कहाँ जाने ?’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिं चौधरीले बहुविवाहको घटनामा नेपाली सेनालाई प्रहरीले कारवाही गर्न नमिल्ने भएकाले आवश्यक कारवाहीका लागि आरोपित वली कार्यरत रहेको गणलाई पत्राचार गरेको बताए ।