विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि आश्रयविहीन भएकी १४ वर्षीया गर्भवती बालिकालाई पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले साउन १४ गते पीडित बालिकाका अभिभावकलाई भेटेर इन्सेकको मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग अन्तर्गत पुनर्स्थापनाका लागि राहत स्वरूप १० हजार रुपियाँ हस्तान्तरण गरेकी हुन् ।
पीडित बालिका आफ्नै मामाबाट बलात्कृत हुँदा गर्भवतीसमेत भएकाले अल्पकालिन सेवा केन्द्र, बागलुङमा आश्रय लिइरहेकी थिइन् । आठ महिनाकी गर्भवती बालिकामा मनोसामाजिक अपाङ्गताको समस्या समेत रहेको छ ।
परिवारको आर्थिक अवस्था न्यून भएको र आमाको समेत निधन भएपछि आश्रय लिएर बसेको संस्था बन्द भएपछि अलपत्र परेकी बालिकालाई स्वास्थ्य उपचार, यातायात र गर्भवती अवस्थामा राहत होस् भनेर इन्सेकले राहत रकम सहयोग गरेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले बताइन् ।
विभिन्न प्रकारबाट हिंसाबाट पीडित महिलाहरूको आश्रय र परामर्शका लागि २०६६ सालदेखि सञ्चालन हुँदै आएको सेवा केन्द्र बन्द भएपछि पछिल्लो समय आश्रति दुई जना पीडित समस्यामा परेका थिए ।
सेवा केन्द्र बन्द भएपछि त्यहाँ आश्रय लिएर बसेका दुई जना पीडितमध्ये एक जनालाई हाल परिवारको जिम्मा लगाइएको छ भने गर्भवती बालिकालाई साउन ३ गतेबाट बागलुङ बजार स्थित एक होटलमा राखिएको छ । सङ्घीय संरचनामा जाँदा महिला विकास कार्यालय खारेज भएकाले त्यसले गरेका सम्झौताहरू पनि खारेज हुने भएपछि अल्पकालिन सेवा केन्द्र बन्द भएको बताइएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको नेतृत्वमा अल्पकालिन सेवा केन्द्र सञ्चालन समन्वय समितिको साउन २ गते बसेको बैठकले महिला विकास कार्यालय खारेज भइसकेकोले अल्पकालिन सेवा केन्द्र खारेज गर्ने र त्यस मातहतमा रहेका जिन्सी सामानहरू जिल्ला प्रशासनले बुझ्ने निर्णय गरेको थियो ।
बागलुङ नगर कार्यपालिका सदस्य लक्ष्मी बोहोराले पीडितलाई केही दिन धौलागिरि अञ्चल अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन (ओसीएमसी)मा राखिएको भएपनि त्यहाँ धेरै दिन राख्न नमिल्ने भएकाले तत्कालको लागि अन्य व्यवस्था नभएसम्म पुनः बागलुङ बजारस्थित एक होटलमा सुरक्षित राखिएको बताइन् ।