INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने

व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६ को लागि निर्धारण गरेको करको सूचीमा न्याय समितिमा उजुरी दर्ता गर्दा पनि कर लाग्ने बनाएको छ ।

कुनै नागरिकले नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गर्न गएमा १ सय रुपियाँदेखि २ सय ५० रुपियाँसम्म शुल्क तिनुपर्ने भएको छ । उजुरीको प्रकृति हेरी कर निर्धारण गरिएको छ । ठाडो उजुरीको लागि १ सय रुपियाँ र अन्य उजुरीको लागि २ सय ५० रुपियाँ कर निर्धारण गरिएको छ ।

नगरपालिकामा न्यायिक प्रक्रियाको लागि ‘कोर्ट फि’ को रूपमा पटकै पिच्छे छुट्टा छुट्टै पनि कर तिर्नु पर्ने भएको छ । कोर्ट फि को रूपमा पटकै पिच्छे १ सय रुपियाँदेखि ३ सय रुपियाँसम्म कर तिर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले नगरसभाले कर निर्धारण गरेको बताए । उनले नगरपालिकाले निर्धारण गरेको करबाट समग्र नगरको विकास गर्ने हुँदा कसैले पनि अन्यथा लिन नहुने प्रतिक्रिया दिए ।

अन्य

भिडियो