अछाम जिल्लामा रहेको नेपाल खाद्य संस्थानले विक्रीवितरण गर्ने गरेको चामल एक सातादेखि सकिएपछि उपभोक्ता चिन्तित बनेका छन् । जिल्लाका लागि गएको आर्थिक वर्षमा तोकिएको ३ हजार क्वीन्टल चामल सकिएको र नयाँ चामल नआइसकेका कारण चामलको अभाव भएको डिपो प्रमुख रामबहादुर भण्डारीले जानकारी दिए ।
चामल लिन डिपो पुगेका सर्वसाधारण खाली हात फर्किनु परेको बताउने गरेका छन् । चामल लिन डिपो पुगेकी मङ्गलसेनकी शान्ती लुहारले चामल नपाएरै फर्केको बताइन् । डिपो कार्यालयले सहुलियत दरमा चामल र गहुँ विक्री गर्दै आएको छ ।
संस्थानले मङ्गलसेन डिपोका लागि २ हजार क्वीन्टल र कमलबजारका लागि १ हजार क्वीन्टल चामल ढुवानी ठेक्का भइसकेको भएपनि धनगढीबाट ढुवानी नहुँदा कैदीबन्दीलाई बाहेक खाद्य गोदाममा गहुँ र चामल नभएको डिपो प्रमुख बमले जानकारी दिए । ‘म २÷४ दिनमै धनगढी जाँदैछु, त्यसपछि चामल आउँछ होला ।’–डिपो प्रमुख बमले भने ।
संस्थानले सदरमुकाम मङ्गलसेन र कमलबजारबाट सहुलियत दरमा गहुँ र चामल विक्री गर्दै आएको छ । खाद्य संस्थानमा चामल सकिएपछि नागकिरले बजारको महङ्गो मुल्यमा चामल किन्न बाध्य छन् । गहुँ पाक्ने समयमा जिल्लाका अधिकांस स्थानमा असिनाले क्षति पु¥याएकोले यहाँका उपभोक्ता भोकमरी हुनेमा थप चिन्तित बनेका हुन् ।