INSEC Online

📅 २०८३ जेष्ठ २१

सार्थक परिणामका लागि वार्ताको विकल्प छैन: इन्सेक

विभिन्न माग राखेर सत्याग्रहमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गरेर सार्थक परिणाम निकाल्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सरकार र सत्याग्रही दुवै पक्षसँग आग्रह गरेको छ । डक्टर गोविन्द केसी पछिल्लोपटक सत्याग्रहमा बसेको साउन ८ गते २५ दिन भएको छ ।

‘केसी अनशन बसेको तेस्रो दिनदेखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जारी गरेको विभिन्न प्रेस नोटमा उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको, मुटुको चालमा गडबडी देखिएको र जुनसकै बेला सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने उल्लेख थियो ।’-इन्सेकद्वारा साउन ८ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

केसी अनशनरत अस्पतालमा सघन उपचार कक्ष नभएकाले थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने डक्टर केसीका शुभेच्छुकको माग अनुसार उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा साउन ३ गते अस्पताल परिसरमा भएको तोडफोड र साउन ५ गते काठमाडौँमा भएको प्रदर्शन र प्रहरी हस्तक्षेपले अनशनको विषयहरुको विषयान्तर हुने सम्भावना बढेको इन्सेकले आँकलन गरेका छन् ।

डाक्टर केसीका हरेक जसो अनशनको इन्सेकले अनुगमन गरिरहेको छ र यस विषयमा पटकपटक सरकार र अनशनरत केसी पक्षको ध्यानाकर्षण गराउँदै आएको छ ।

उनका मागहरू तेस्रो अनसनसम्म चिकित्सा शिक्षासँग केन्द्रित भए पनि त्यसपछिका मागहरु क्रमश संसद् र न्यायालयतिर सोझिएका इन्सेकले जनाएको छ । डक्टर केसीका मागहरु, सरकारसँग भएका सहमति र विरोधाभाषसमेत देखिएको इन्सेकले औँल्याएको छ ।

‘डक्टर केसीको अनशन र उनले उठाएका मागहरुको सम्बोधन हुनासाथ नेपालको चिकित्सा क्षेत्रमा रहेका तमाम बेथितिको अन्त्य हुने, औषधीहरु सुपथ मूल्यमा पाइने, कुनै पनि गरीब व्यक्ति स्वास्थ्य सेवा पाएर नमर्ने, विपन्न वर्गका छोराछोरीले निशुल्क पढ्न पाउने जस्ता विषय जोडतोडका साथ उठाइएको छ । तर केसीका मागहरु हेर्दा यी र यस्ता कुनै विषयले प्राथमिकता पाएको देखिँदैन ।’-जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो