जिल्लाका १० स्थानीय तहमा २० हजार ८ सय ४४ घरपरिवार गरिब रहेको पाइएको छ । गरिब घरपरिवार पहिचान तथा परिचय वितरण बोर्डले सङ्कलन गरेको तथ्याङ्क अनुसार अति गरिबमा १० हजार ७१ मध्यम गरिबमा ६ हजार ४ सय ६४ र सामान्य गरिबमा ४ हजार ३ सय नौ घरपरिवार रहेको जिल्ला समन्वय समितिकिो कार्यालय अछामले जानकारी दिएको छ ।
१० वटा स्थानीय तहमा सबैभन्दा बढी ढकारी गाउँपालिकामा २ हजार २ सय ५७ परिवारमा १ हजार १ सय २७ अति गरिब, ६ सय ५२ मध्यम र ४ सय ४३ सामान्य गरिब रहेका छन् । पञ्चदेवल विनायक नगरपालिका २ हजार ६ सय ७२ गरिब मध्येमा १ हजार ३ सय ३ परिवार अति गरिब, ९ सय ५ मध्यम र ४ सय ६४ सामान्य गरिब परिवार रहेको तथ्याङ्कमा छ ।
यस्तै बान्नीगढी–जयगढ गाउँपालिकामा ५ सय ५६ अतिगरिब, ४ सय ४५ मध्यम र २ सय ४२ घरपरिवार सामान्य गरिब रहेका छन् । रामारोशन गाउँपालिकामा ५ सय ७५ अतिगरिब, ५ सय ४० मध्यम र ५ सय ६८ सामान्य गरिब घरपरिवार छन् भने तुर्माखाँद गाउँपालिकामा १२ सय ३९ अतिगरिब ६ सय ६१ मध्यम र ३ सय ७२ घरपरिवार समान्य गरिबको सूचीमा रहेका छन् ।
मङ्गलसेन नगरपालिकामा १ हजार १ सय २७ अति गरिब, ६ सय ५२ मध्यम र ४ सय ४३ सामान्य, कमलबजार नगरपालिकमा १ हजार १ सय ८० अति गरिब, ५ सय ९८ मध्यम र ४ सय २३ सामान्य गरिब परिवार रहेको छ ।
यस्तै साँफेबगर नगरपालिकामा १ हजार १ सय ७५ अति गरिब, ७ सय ६१ मध्यम र ४ सय ४६ सामान्य गरिबी रहेको पाइएको छ । चौरपाटी गाउँपालिकामा १ हजार १ सय एक अति गरिब, ६ सय ४७ मध्यम र ४ सय ६४ सामान्य, मेल्लेख गाउँपालिकामा ५ सय ४२ अति गरिब, ६ सय ३ मध्यम र ५ सय ४५ सामान्य गरिब परिवार रहेको तथ्याङ्क छ ।
घर परिवारको विवरणसहित साउन अघि नै रातो, पहँेलो र निलो परिचयपत्र वितरणका लागि जिल्लाका १० वटै स्थानीय तहमा हस्तान्तरण भइसकेको जिल्ला समन्वय समितिका सूचना प्रविधि अधिकृत भीमबहादुर चलाउनेले जानकारी दिए ।
मेल्लेख गाउँपालिका बाहेक अन्य स्थानीय तहले उक्त परिचयपत्र वितरण सुरू गरेका छैनन् । इन्सेकको प्रकाशन नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ मा १ लाख २० हजार ९ सय ३१ जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
गरिबीका कारण नागरिकले खान नपाउने, उपचार गर्न नपाउने जस्ता मानव अधिकारका आधारभूत अधिकारसमेत प्राप्त हुन नसक्ने पत्रकार ललितकुमार केसीको भनाइ छ । ‘राज्यका हरेक अङ्गहरूले गरिबको अवस्था अनुसारको कार्यक्रम लागु गरी उनीहरूको अवस्था माथि उठाउनु पर्दछ ।’– अधिकारकर्मी मना अधिकारीले भनिन् । २०६८ को जनगणना अनुसार अछाममा २ लाख ५७ हजार ४ सय ७७ जनसङ्ख्या रहेको छ ।