१३ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको कसुरमा उदयपुर जिल्ला चौदण्डीगढी नपा-९का २८ वर्षीय मोहमद मुक्तार मियालाई जिल्ला अदालतले असार ३१ गते १५ वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्गेनीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । आलेका अनुसार आरोपितलाई बलात्कार गरेको कसुरमा थप पाँच वर्षकैदको पनि फैसला गरिएको छ । अर्का आरोपित कञ्चनरुप नपा-३ का २५ वर्षीय कौशर मिया फरार रहेकाले मुद्दा ‘मुल्तवी’मा राखेको सरकारी वकिल आलेले बताए ।
पीडितद्वयलाई आरोपितले जागिर लगाइदिने प्रलोभन देखाउँदै बेच्ने उद्धेश्यले ०७२ पुस २२ गते भारत लगिरहेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २४ गते आरोपितहरूविरूद्ध उजुरी दिएको थियो ।
पीडित पक्षले पीडितद्वयलाई आरोपितले बलात्कार समेत गरेको आरोप लगाएको थियो । पीडित बालिकाहरूको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा ०७२ पुस २३ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले बालिकाहरूको उद्धार गरी आरोपितलाई पुस २२ गते नै गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित माघ १८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।