INSEC Online

📅 २०८३ जेष्ठ २१

बालगृहमा राखिएका १० बालबालिकाको अवस्था अज्ञात

वीरेन्द्रनगर नपा–१० स्थित सुरक्षित घर नेपाल (बालगृह) मा राखिएका १० जना बालबालिकाको अवस्था अज्ञात रहेको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतले सो बालगृहको अनुगमन गर्दा ०७४ साउन महिना यता बालगृहमा राखिएका १० जना बालबालिका अनुगमनको क्रममा फेला नपरेपछि ती बालबालिकाको अवस्था अज्ञात भएको जानकारीमा आएको हो ।

अनुगमन गरे लगत्तै तीन दिनभित्र नभेटिएका बालबालिकाको हालको अवस्थासहितको प्रतिवेदन बुझाउन कार्यालयले बालगृहलाई निर्देशन दिएपनि असार २९ गतेसम्म सो बाल गृहले महिला तथा बालबालिका कार्यालयलाई प्रतिवेदन बुझाएको छैन ।

‘असार २५ गते हामी अनुगमनमा जाँदा एउटा घरमा बोर्ड मात्रै झुण्ड्याइएको थियो । बालबालिका थिएनन् ।’–महिला विकास अधिकृत पवित्राकुमारी पुरीले भनिन्–‘समय सीमाभित्र बालगृहबाट जबाफ नआएपछि थप अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरेका छौँ । सो अनुरुप प्रहरीले असार २८ गते बालगृहमा रहेका सबै सामग्री जफत गरी अनुसन्धान सुरू गरेको छ ।’

सुरक्षित घर नेपाल नामक बालगृहमा राखिएका मध्ये १० जना बालबालिकाको अवस्था अज्ञात रहेको र उनीहरूका अभिभावकसँग सम्पर्क गर्ने प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चर्तुवेदीले बताए । उनका अनुसार बालगृह सञ्चालक हरिराम भारती ६ महिनादेखि सम्पर्कविहीन छन् । अन्य पदाधिकारी पनि सम्पर्कमा आएका छैनन् ।

‘असार २९ गतेसम्म बाल गृहमा राखिएका बालबालिकाका आफन्त सम्पर्कमा ल्याउन भनेका छौँ । बालगृहमा बालबालिका राख्दा अभिभावकसँग सम्झौता गरिएपनि बुझाएको सम्झौता फेला परेको छैन । साथै बालिबालिका अभिभावकलाई बुझाएको प्रमाण संस्थासँग छैन । संस्थाका पदाधिकारी र सदस्य पनि सम्पर्कमा आएका छैनन् ।’–एसपी चर्तुवेदीले भने–‘यसले झन् शङ्का बढाएको छ ।’

सो बालगृहमा राखिएका मध्ये सात जना कारागारमा कैद सजाय भुक्तान गरिरहेकाहरूका छोराछोरी र बाँकी बाहिरका बालबालिका हुन् । आवासीय सुविधासहित पठन–पाठनको व्यवस्था गर्ने बताउँदै घर–घरमा पुगेर त्यस्ता बालबालिका ल्याइएपनि सो बालगृहले करिव एक वर्षसम्म ती बालबालिकाहरूको उचित स्याहार सुसार तथा पठनपाठनमा ध्यान नदिइएको अनुगमनमा पाइएको महिला विकास अधिकृत पुरीले बताइन् ।

अन्य

भिडियो