कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि न उपचार हुन सकेको छ न राम्रोसँग खान बस्न पाएका छन् ।
गाउँको छेउमा एक्लो घर भएका पुन पहिलेदेखि मानसिक रूपमा अस्वस्थ हुनुको साथै उनका २० वर्षीया छोरी रमा र १५ वर्षीय छोरा विजयमा पनि सोही समस्या देखिएपछि ११ वर्षीया कान्छी छोरी रोशनीले बुवा र दाइ/दिदीको हेरचार गर्नेगरेकी छन् ।
बुवालाई मनोसामाजिक अपाङ्गता भएपछि आमाले सात महिना पहिले छाडेर अर्को विवाह गरेपछि पुन परिवार थप बिचल्लीमा परेको छ ।
बिरामीहरूलाई रेखदेख गर्न ११ वर्षीया बालिका बाहेक कोही नहुँदा उनीहरूको उपचार गराउन लैजाने मान्छे समेत छैनन् भने घरमा बिहान बेलुकीको खाने खानाको समेत ठेगान नहुने बालिकाको भनाई छ । तीन जनाको स्याहारसुसार गर्न र खाना जुटाउने अनि कसरी पकाएर ख्वाउने भन्नेमा पनि कान्छी छोरी रोशनीलाई समस्या हुने गर्छ ।
आर्थिक अवस्था कमजोर रहँदा र आम्दानीको श्रोत नहुँदा सिङ्गो परिवार उपचार अभावमा बस्न बाध्य छ । खरको छानो भएको सानो घर र ४ कठ्ठा खेत भएपनि खेती गर्ने मान्छे नहुँदा खेत बाँझै छोडिएको छ ।
बुद्धभुमि नपा–३ का वडा अध्यक्ष गोविन्द आर्चायले उनीहरूको समस्याबारे स्थानीय सरकारका मेयर, प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको भएपनि हालसम्म कुनै सहयोग जुटाउन नसकिएको बताए ।
जिल्ला बाल संरक्षण समितिको तर्फबाट केही समयअघि ५ हजार रुपियाँ परिवारलाई सहयोग प्राप्त भएपनि सो रकम पर्याप्त नहुँदा उपचार नभएको आचार्यको भनाई छ ।
घनबहादुर पुनमा ६ वर्ष अघि र जेठी छोरी रमामा ४ वर्ष अगाडिदेखि यस्तो समस्या देखिएको थियो । छोरी रमालाई ६ महिना यता धेरै समस्या भएको छिमेकी रामबहादुर पुनले जानकारी दिए । उपचार अभावका कारण दिनप्रतिदिन उनको अवस्था असामान्य बन्दै आएको छ । छोरा विजयलाई पनि ५।६ महिना देखि मानसिक समस्या आएपछि परिवारमा जटिलता थपिएको छ । शरीर पँहेलो देखिने उनी आफै हिँडडुल गर्न सक्दैनन् ।
नियमित खाना खान नपाउँदा पुन परिवारको अवस्था दिनदिनै नाजुक बन्दै छ । सो परिवारका बिरामी सदस्यलाई तत्काल उपचार तथा उचित पोषणको लागि पहल गर्नु पर्ने देखिएको कपिलवस्तुका सामाजिक अभियन्ता शिवलाल यादव बताउँछन् ।