INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद र छुवाछुत गरेको कसुरमा ६ महिना कैदको फैसला

छुवाछुतको नाममा दलितमाथि जातीइ विभेद गरेको कसुरमा जिल्ला अदालतले जिल्लामा नै पहिलो पटक जेल सजायको फैसला सुनाएको छ ।

मानव अधिकार तथा समाजिक विकास परियोजनाले असार २७ गते जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटना घटेको ३ महिनापछि असार २४ गते महोत्तरी जिल्ला अदालतले घटनामा संलग्न कमला गिरीलाई ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपुर्ति तथा सोही घटनामा संलग्न रहेका रामबावु दाहाल नाबालक रहेकाले २ महिनाको कैद सजायको फैसला सुनाएको छ ।

बर्दिवास नगरपालिका–४ माईस्थान भप्सी टोलकी वुधमाया विश्वकर्माकी १६ वर्षीय छोरी मनिषा विश्वकर्मा वैशाख १५ गतेसार्वजनिक धारामा पानी भर्न जाँदा सोही ठाउँकै कमला गिरीकी छोरी दिपीका गिरीले ’पानी किन छोइस ?’ भनेर कुटपिट गरेकी थिइन् ।

पत्रकार सम्मेलमा पीडित मनिषाले भनिन्–‘धाराको पानी छोएको निहँुमा दिपीकाकी आमा कमला गिरीले पनि छोरीलाई नसम्झाएर मलाई नै तथानाम गाली गर्दै लछारपछार गर्दै कुटिन् । पछि यो घटनाको बारेमा आमाले कमला गिरीलाई भन्न जाँदा आमालाई पनि कुटपिट गरे ।’

उनले यस घटनाबाट न्याय पाउन ४ नम्बर वडाका अध्यक्ष दिपबहादुर कार्कीलाई सुनाउँदा पनि नटेरेको बताईन् ।

स्थानीय प्रदिप रसाईलीका अनुसार वडा अध्यक्ष कार्कीले यो घटनालाई यहाँ मिलाउन नसकिने भन्दै बच्चाले कुटेकाले बच्चालाई कुनै ‘केश’ नलाग्ने भनेर पठाएको दुखेसो गरे । उनले भने–‘दुर्गाबहादुर नाम गरेका हवल्दारले यस किसिमका घटना अझै २०–२५ वर्ष सम्म घट्ने भएकोले कुनै नौलो नरहेको बताएर हामीलाई निरूत्साही बनाउन खोजेका थिए ।’

घटना भएको भोलिपल्ट पीडित बालिकाकी आमा आफ्नो छोरीलाई पानी छोएको निहुँमा कुटाइ खानुपरेको भन्दै गाउँका भद्रभलादमी, अगुवाहरूबाट न्यायका लागि गुहार माग्न गएकी थिइन् । त्यति नै बेला कमला गिरीले बुद्धमायालाई पनि जगल्टा समातेर कुटपिट गरिन् ।

घटना वैशाख १५ र १६ गतेको भएपनि वैशाख २० गते मौखिक उजुरीका आधारमा घटना बुझ्न वर्दिवास नगरपालिकाका सदस्य सूर्य विश्वकर्मा, न्यायिक समितिका सदस्य चन्द्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष दिपबहादुर कार्की र दलित अधिकारकर्मी पीडितको घरमा गएपछि मात्र घटना सार्वजनिक भएको थियो ।

असार २४ गते अदालतले गरेको फैसलामा कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना र दाहाललाई २ महिनाको कैद सजाय तोकिएको छ । अदालतले दुवैसित १० हजार रुपियाँका दरले जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति सहितको कैद सजायको फैसला गरेको हो ।

अन्य

भिडियो