११ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै आएको हो । अहिले सङ्क्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डक्टर प्रवीणकुमार गिरीले बताए ।

‘डक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ । बचाउनका लागि जुनसुकै बेला आइसियू आवश्यक पर्न सक्छ ।’-डक्टर गिरीले भने-‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’
असार २४ गतेसम्म अलिअलि बोलेका र रेष्टरूमसम्म हिँड्न सकेका डक्टर केसी असार २६ गतेबाट सिकिस्त भएको चिकित्सकको भनाई छ । उपचारमा संलग्न चिकित्सकले असार २६ गते केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।
छातिको बीचभागमा अत्याधिक दुखाई, कमजोरीका कारण चक्कर लाग्ने, शरीरका मांसपेशी बाउँडिने, पिसाबमा स्टोन बढी, सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै, रगतमा चिनीको मात्रा कम हुँदै, मुटुको चाल तलमाथि, मुटुले काम गर्न बन्द गर्न सक्ने अवस्था भएको डक्टर केसीको रिपोर्टमा उल्लेख छ ।
उपचारका लागि २४ घण्टा चिकित्सकहरूको निगरानीमा राखिएको बताउँदै डक्टर प्रवीणकुमार गिरीले भने-‘ग्लुकोज लिन नमानेका कारण ग्लुकोज नभएका अन्य आइभी फ्लुडहरू र आवश्यकता अनुसार अक्सिजन दिइँदै आएको छ ।’
मन्त्रालयले खटाएका चिकित्सक जुम्लामै
डक्टर केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकले भने जितसक्दो चाँडो काठमाडौँको सुविधासम्पन्न अस्पतालमा ‘एयरलिफ्ट’ गर्नुपर्ने सुझाव दिँदै आएका छन् । उनीहरूसँग केसीले उपचार गर्न नमानेपछि जुम्लामै बसेर निगरानी गरिरहेका छन् । आफूहरू निरन्तर केसीको निगरानीमा खटिएको डा. जीवन थापाले बताए ।
‘हामी केसीको उपचारमा संलग्न चिकित्सक टोलीसँग निरन्तर सम्पर्कमा छौँ । सरसल्लाहमै केसीको उपचार भइरहेको छ ।’-डक्टर थापाले भने-‘हामी केसीको स्वास्थ्य प्रति निकै चिन्तित छौँ । केसीको माग पूरा गर्नुभन्दा पहिलो कर्तव्य उनको जीवन रक्षा हो ।’ वीर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक थापा र डक्टर सुभास रेग्मीलाई गत बिहीबार मन्त्रालयले जुम्ला पठाएको थियो ।