सरकारी पक्षले अनशन तोड्नका लागि गरेको आग्रहलाई जेठ १५ गतेदेखि अनशनमा रहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अस्वीकार गरेकी छन् ।
कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गङ्गामायालाई भेट्न वीर अस्पताल पुगेका थिए ।
तर, गङ्गामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् । छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छन् ? भन्ने प्रश्न गरेकी छन् । उनले आचार्यलाई गिरफ्तार गरेपछि मात्रै अनशन तोड्ने बताइन् ।
भेटमा उपस्थित इन्सेकका अध्यक्ष एवम् मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले भने-‘उहाँले अनशन तोड्न मान्नुभएन ।’
मानव अधिकारकर्मीहरुले गङ्गामाया अरु माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । पहल अझै जारी राखिने अधिकारकर्मीहरूले बताएका छन् ।