INSEC Online

📅 २०८३ जेष्ठ २१

बैवाहिक बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

३६ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरी गुप्ताङ्गमा पाइपले घोचेर यातना दिएको कसुरमा ४० वर्षीय पतिलाई जिल्ला अदालतले असार २१ गते ८ वर्षकैद र ३० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

पीडित महिलालाई आरोपितले बलात्कार गरेको र ज्यानमार्ने उद्योगको मुद्दामा सो सजाय भएको अदालतका प्रवक्ता नासु विनोद आचार्यले जानकारी दिए । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सो फैसला भएको हो ।

मुलुकी ऐन ज्यान मार्ने महलको १५ नम्वर अनुसार ५ वर्ष तथा सोही ऐन जबरजस्ती करणी महलको ३ (६) बमोजिम ‘अप्राकृतिक चीज योनीमा घुसाएको’ ठहर भए अनुसार ३ वर्षसमेत ८ वर्षकैद र जबरजस्ती करणी महलको १० नम्वर बमोजिम पीडितलाई क्षतिपूर्ति दिनु भनी फैसलामा लेखिएको छ ।

गत चैत ७ गते बेहोस हुने गरी कुटपिटसँगै पत्नीको गुप्ताङ्गमा प्लाष्टिक पाइपले घोचेर घाऊ बनाएको आरोपमा प्रहरीले चैत ९ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फ चैत २८ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश गरिएको थियो ।

घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका सङ्घसंस्थाले चासो राखेका थिए ।

त्यसबेला करिब १ महिना दैलेख अस्पतालमा उपचारपछि पीडित महिलालाई महिला तथा बालकालिका कार्यालय र सामाजिक सेवा केन्द्र (सोसेक) लगायतका अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले पुनर्स्थापना गराएका थिए ।

अन्य

भिडियो