न्याय प्राप्ति जस्तो आधारभूत अधिकार प्राप्तिको लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर एवम् जटील बन्दै आएको अवस्थामा समेत माग सम्बोधनको कुनै पहल नभएको भन्दै जीवन रक्षाका लागि मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले असार २१ गते प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत गङ्गामायाको स्वास्थ्य अवस्थाको बारेमा निरन्त्तर अनुगमन गरिरहेको समेत जनाएको छ । ‘लामो समयदेखि न्याय प्राप्तिको लागि अनसनमा बस्दा निजको स्वस्थ्य अवस्था अत्यन्त गम्भीर र जटील बन्दै गएको अनुगमनबाट बुझिएको छ ।’-विज्ञप्तिमा उल्लेख छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन गर्न आयोगले नेपाल सरकारलाई पत्राचार एवम् सिफारिश गर्नुका साथै नेपाल सरकारका जिम्मेवार पदाधिकारीहरूसँग पटक-पटक छलफल गरी ध्यानाकर्षण गराउँदा समेत यस्तो संवेदनशील विषय कार्यान्वयनको प्राथमिकतामा नपर्नु अत्यन्त दुःखद् स्थिति रहेको आयोगले जनाएको छ ।
‘यसबाट नेपालले मानव अधिकारप्रति अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिवद्धताहरुमाथि गम्भीर प्रश्न खडा भएको छ भने संविधानद्वारा प्रदत्त न्यायिक अधिकारको हक समेत कुण्ठित भएको छ । न्यायपालिकाको आदेशको पालना हुन नसक्नु कुनैपनि लोकतान्त्रिक राज्यको लागि शोभनीय हुन सक्दैन ।’-विज्ञप्तिमा उल्लेख छ ।
यसैविच आयोगले असार २१ गते नै चिकित्सा शिक्षामा रहेका समस्याहरूको सुधारको माग गर्दै असार १६ गते देखि जुम्लामा अनसनरत डक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।