कक्षा १० मा अध्ययनरत कोशी गाउँपालिका-७ हरिपुरका १७ वर्षीय बालक गौतम पाठक आफ्नै विद्यालयका प्रिन्सिपलको कुटाइबाट घाइते भएका छन् ।
साथीसाथीको भनाभनको विषयलाई लिएर असार १० गते १२ बजेको समयमा सुनसरी सदरमुकाम इनरूवा नगरपालिका-४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादव सहितका शिक्षकहरूले रबरको पाइपले निर्घात कुटपिट गरेको पीडित पाठकले बताए ।
पीडित बालक पाठकले आफूलाई कोठामा थुनेर प्रिन्सिपल ओमप्रकाश यादव, विद्यालयको सवारी चालक कमल दास, चन्दन यादव र नन्दकिसोर यादव सहितले लाठी र रबरको पाइपले कुटपिट गरेको बताए ।
कुटपिटबाट बालक पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरी नै निलडाम रहेको पीडितका ठूलोबुवा श्यामानन्द पाठकले बताए ।
घाइते बालकको स्थानीय मेडिकलमा उपचार भएको छ । उनले आफूलाई अपाङ्ग बनाइदिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालैपालो गरी प्रिन्सिपल र शिक्षकहरूले निर्घात कुटपिट गरेको आरोप लगाए ।
पीडित पाठकले कुटपिट गर्ने शिक्षकहरूलाई कारबाही गर्नुपर्ने माग गरे । प्रिन्सिपल यादवले भने कुटपिट गरेको स्वीकार गर्दै मार्ने र अपाङ्ग बनाउने गरी नकुटेको बताए ।