INSEC Online

📅 २०८३ जेष्ठ २१

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतद्वारा विद्यार्थी नेता थुनामुक्त

गैरकानुनी रूपमा थुना परेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सम्राट सापकोटा असार ६ गते थुनामुक्त भएका छन् ।

जेठ १८ गते पर्वतको फलेवासमा भएको डोजरमा आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई जेठ २६ गते गिरफ्तार गरेको थियो । उनलाई गैर कानुनी थुनामा राखिएको भन्दै उच्च अदालत पोखरा, बागलुङ्ग इजलासमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै अदालतले असार ६ गते रिहा गर्न आदेश दिएको हो ।

सार्वजनिक अपराध मुद्दामा दुई पटक म्याद थप गरेर राखिएका सापकोटालाई सात दिनमा जिल्ला प्रशासनमा बुझाउनु पर्नेमा ३५ दिन म्याद थप गरेर हिरासतमा राख्नु गैरकानुनी काम भएको अदालतको आदेशमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी पर्वतका सेक्रेटरी ढकबहादुर क्षेत्री पनि सोही आरोपमा प्रहरी हिरासतमा रहेका छन् ।

पर्वतको फलेबास नगरपालिकामा सडक चौडा पार्न प्रयोग गरिएको स्काभेटरमा आगजनी गरेको, मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको कुस्मा नपा-७ परादीमा रहेको कार्यालयमा बम राखेकोलगायतका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई जेठ २६ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो