INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको अनुगमनपछि कारागारमा आंशिक सुधार

०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको अवस्थाबारे इन्सेकले अनुगमन गरेपछि बन्दीगृहको अवस्थामा आंशिक सुधार भएको छ ।

गत वैसाख १९ गते इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेल, इन्सेक धनगढी कार्यालयका क्षेत्रीय संयोजक खडकराज जोशीलगायतको टोलीले जिल्ला कारागार बैतडीको बन्दीगृह र अन्य भौतिक अवस्थाबारे अनुगमन निरीक्षण गरेको थियो ।

उक्त अनुगमनपछि कारागार व्यवस्था विभागले बन्दीगृहको मर्मतका लागि बजेट विनियोजन गरेको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताए ।

‘बाटो निर्माणको लागि आएको बजेटलाई जिल्ला सुरक्षा समितिको निर्णयमा बन्दीगृह मर्मतमा खर्च गर्ने निर्णय गरी कामसमेत तीव्र गतिमा चलिरहेको छ ।’-तिवारीले भने-‘यसमा इन्सेकको अनुगमन र मिडियाले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’

कारागार व्यवस्था विभागबाट बाटो निर्माणका लागि आएको ४ लाख ३७ हजार ८ सय ८१ रुपियाँको बजेटले बन्दीगृहको पर्खाल, प्रहरी पोष्ट र बन्दीभित्रको अन्य व्यवस्थापनको काम चलिरहेको कारागार प्रशासनले जनाएको छ । खानेपानीको अभाव रहेको कारागारमा सोही बजेटबाट प्लाष्टिकको पानी ट्याङ्कीको व्यवस्था गरी जडान कार्य भइरहेको छ ।

अहिले कारागारमा २३ कैदी र सात जना थुनुवा गरी ३० जना बन्दी रहेका छन् । बन्दीगृहको पर्खाल सामान्य रूपमा मर्मत भएपनि अन्य समस्या भने यथावत रहेको प्रमुख तिवारीको भनाई छ ।

सुरक्षाकर्मी बस्ने भवन, प्रशासनको भवन र अन्य कारागारको भौतिक अवस्थामा भने अझै जीर्ण रहेको उनको भनाई छ । भवन अभावका कारण अहिले मेडिकल र सबै प्रशासनिक कामहरू एउटै कोठामा गर्नुपर्ने बाध्यता छ ।

बन्दीगृहको अवस्थामा सुधार आएपनि अन्य कर्मचारी र सुरक्षाकर्मीले बस्ने भवन भने वर्षायाममा चुहिने समस्या यथावत छ । महिला बन्दीगृह, मोटरबाटो, सवारीसाधन र भवन मर्मतका लागि माग गरिएको भएपनि उक्त कुरा सम्बन्धित निकायबाट सम्बोधन नभएको जेलर तिवारीले बताए ।

अन्य

भिडियो