INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित बालिकाको उद्धार

आफ्नै बावुबाट बलात्कृत भएकी १२ वर्षीया बालिकासहित बावुकै कुटपिटका कारण पीडित अर्की सात वर्षीया गरी दुई बालिकाको उद्धार जेठ २७ गते गरिएको छ ।

३० वर्षीय बावुबाट पीडित बनेका दुवै बालिकालाई घटनापछि मानव अधिकार मञ्च नेपाल इलामको आकस्मिक आवास गृहमा राखिएको थियो । घटनापछि घरमा बस्ने वातावरण नभएपछि दुवै बालिकालाई आकस्मिक आवासगृहमा राखिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार मञ्चका प्रतिनिधि, सरकारी वकिल कार्यालय सबैको पहल र प्रयासमा बालिकालाई उद्धार गरी अबको पालनपोषण र पढाइका लागि माइती नेपालमा पठाइएको जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

‘बालिकालाई कहाँ राख्ने भन्ने अत्यन्तै समस्या थियो । उनीहरू आमासँग घर बस्न सक्ने स्थिति पनि भएन, आमालाई नै डेरा बसेको घर र छरछिमेकमा छोरीहरू घर नल्याउ भन्दै दबाव आएपछि आमाको स्वीकृतिमा माइती नेपाल काठमाडौँ पठाइएको हो ।’-सरकारी वकिल कार्यालयका ऋद्धि निरौलाले भने-‘यी बालिकाको उद्धार गर्न, जन्मदर्ता प्रमाणित गराउन र माइती नेपालका पठाउन इन्सेक जिल्ला प्रतिनिधिसहित मानव अधिकारकर्मीहरूको योगदान महत्वपूर्ण छ ।’

पीडित बालिकालाई बलात्कार गरेको भन्दै जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरी लगत्तै गिरफ्तार गरिएका आरोपितमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ४ गते इलाम जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो