बेनी बजार स्थीत नेपाल विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सहित चार जनालाई गिरफ्तार गरेको छ ।
जिल्ला समन्वय समिति म्याग्दीमा राप्रपाका तर्फबाट निर्वाचित सदस्य बेनी नपा–७ का ५० वर्षीय हरिबहादुर शाक्य सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
जेठ २२ गते रातको समयमा विद्युत कार्यालयमा पुगेर कार्यालयको झ्याल तोडफोड तथा कार्यालयका अन्य सामानहरूसमेत फुटाउने काममा संलग्न भएकाले प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले बताए ।
प्रहरीले सोही कार्यमा संलग्न भएको आरोपमा बेनी–७ का ६७ वर्षीय गमबहादुर थापा, ३९ वर्षीय गङ्गाबहादुर थापा र १६ वर्षीय बालकलाई जेठ २३ गते गिरफ्तार गरेको जनाएको छ ।
आरोपितहरूले नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा रहेको झ्याल, टेलिफोन सेट, टेबुुल तोडफोड गर्नुका साथै खानाखाने तरखरमा रहेका कर्मचारीमाथि समेत आक्रमण प्रयास गरेको विद्युत प्राधिकरण, म्याग्दीले जनाएको छ ।