INSEC Online

📅 २०८३ जेष्ठ २१

न्याय नपाएसम्म आमरण अनसन रोकिन्नः गङ्गामाया

गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आमरण अनसन नरोक्ने बताएकी छन् । वीर अस्पतालको बेडबाटै गङ्गामायाले जेठ २४ गते पत्रकार सम्मेलनमार्फत छोरा कृष्णप्रसाद अधिकारी हत्या घटनाका दोषीलाई कानुनको कठघरामा नल्याएसम्म आमरण अनसन जारी राख्ने बताएकी हुन् ।

 

उनले भनिन्–“न्यायका लागि अनसनमा बसेकी हुँ । म मरे सरह छु । म मरेँ भने यो देशमा न्याय मर्ने छ ।”

 

१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै न्यायको खोजीमा रहेकी गङ्गामायाले जेठ १५ गते पत्रकार सम्मेलन गरी गणतन्त्रमा पनि न्याय नपाएको भन्दै आमरण अनसन थालेको आज नवौँ दिन हो ।

 

कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी ०६१ जेठ २४ गते चितवनको बकुलहर चोकमा लगेर हत्या गरेको भन्दै घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेका बेला ३ सय ३४ औँ दिनमा ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको नन्दप्रसादको शव अझै पनि त्रिविवि शिक्षण अस्पतालमै छ ।

अन्य

भिडियो