नरहरिनाथ गाउँपालिका-९ की दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरिएको घटना सम्बन्धमा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकार र नागरिक समाजले जेठ २३ गते उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् ।
तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली, नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्ट, नेपाल राष्ट्रिय दलित कल्याण समाजका जया बिक, नेपाल पत्रकार महासङ्घका तुलाराम पाण्डेलगायतका व्यक्तिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मना सार्की हत्या काण्डको उच्च स्तरीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन गर्न माग गरिएको छ ।
मना सार्कीलाई जेठ १९ गते साँझ ८ बजे सोही ठाउँकी २२ वर्षीया राजीन्दा शाही र १९ वर्षीया सृजना शाहीले कुटपिट गर्दा सोही दिन राति मृत्यु भएको मृतकका परिवारले बताएका छन् ।
शवको पोष्टमार्टम जेठ २२ गते जिल्ला अस्पतालमा गरेपछि उनका आफन्तले कर्णाली नदीमा जेठ २३ गते अन्त्येष्टी गरेका छन् । घटनाका विषयमा जिल्लास्थित स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकार र नागरिक समाजले प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कानुनी कारबाहीको मागसमेत गरेका छन् ।
घटनापछि मृतकका छोरा पदम नेपालीले जेठ २० गते कर्तव्य ज्यान र छुवाछुत कसुर सजाए ऐनसम्बन्धी उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाषचन्द्र बोहोराले बताए । प्रहरीले घटनाका आरोपित राजीन्दा शाही र सृजना शाहीलाई जेठ २१ गते नै गिरफ्तार गरेको थियो ।
