१५ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत मोरङले जेठ २२ गते जनही ११ बर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उर्लावारी नगरपालिका-४ का २० वर्षीय बुद्धबहादुर शिवा दर्जी, सोही ठाउँका १९ वर्षीय केवल सुन्दास, सोही ठाउँका ४१ वर्षीय दिलिप माझी र कानेपोखरी गाउँपालिका-४ का २३ वर्षीय अर्जुन परियारलाई जनही ११ वर्षकैद र जनही २०/२० हजार रूपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत ६ नं. फाटका नायव सुब्बा रूद्र खड्काले जानकारी दिए ।
पीडित बालिकाद्वयलाई ट्याक्टरका मजदुर रहेका आरोपितहरूले गत फागुन ३० गते उर्लावारी नपा-४ स्थित बक्राहा खोलामा बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण ०७४ चैत १ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।