बलात्कार पीडित ३० वर्षीया महिलालाई उद्धारपछि थप उपचारका लागि जेठ २० गते युनाइटेड मिशन अस्पताल तानसेनमा भर्ना गरिएको छ ।
पीडित महिलालाई गल्याङ गाउँपालिका २ चण्डीभञ्ज्याङका ३३ वर्षीय पदमबहादुर सुनार जेठ १९ गते बलात्कार गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले उद्धार गरेको पीडित पक्षले जनायो ।
आरोपितलाई १९ गते नै प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी जवान शान्ता खत्रीले बताइन् ।
जिल्ला प्रशासन, जिल्ला अस्पताल, प्रहरी, महिला तथा बालबालिका कार्यालयले पीडित महिलाको उपचारका लागि पहल गरेका थिए ।
पीडित महिला बोल्न सक्दिनन् । उनी विगत एक वर्षदेखि सोही क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । उनको नाम ठेगाना समेत थाहा छैन ।
महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्यले उनलाई मिसन अस्पतालमा निःशुल्क उपचार गर्ने गरी भर्ना गरिएको बताए ।
पीडित महिलाको मानसिक अवस्था समेत ठिक नभएकोले उनको थप उपचारको पहल गरिएको उनले बताए । यसअघि जेठ २० गते पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पाल्पामा गरिएको थियो ।