INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको बाढी पीडितको गुनासो

चार वर्षअघि आएको बाढीले घरबास सबै बगाएपछि सुर्खेतको कुनाथरीको गिरीघाट खोला र वीरेन्द्रनगर नपास्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका बाढी पीडितले चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको गुनासो गरेका छन् ।

Photo20180604Surkhet (3)

तत्कालीन कुनाथरी गाविसको गिरीघाट शिविरमा १ सय ४६ र महिला प्रशिक्षण केन्द्रको शिविरमा ९६ घरपरिवारका बाढीपीडित बस्दै आएका छन् ।

नेपालको संविधानको भाग ३ अन्तर्गत मौलिक हकको धारा ३७ मा प्रत्येक नागरिकलाई उपर्युक्त आवासको हक हुने उल्लेख छ । संविधानको भाग ४ अन्तर्गत राज्यको निर्देशक सिद्धान्त र नीतिमा मुक्त कमैया कमलरी, हरूवा, चरवा, हलिया, भूमिहीन र सुकुमबासीहरूको पहिचान गरी उचित बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीनको व्यवस्था वा रोजगारीको व्यवस्था गर्दै पुनर्स्थापना गरिने उल्लेख छ ।

Photo20180604Surkhet (2)

प्रचण्ड गर्मी, कठ्याङ्ग्रिने जाडो, वर्षायामको हिलोको सामाना गर्नु उनीहरूको दिनचर्या बनेको छ । बढदो गर्मीसँगै दिनहुँ आउने हावाहुरीले त्रिपाल उडाएपछि कुनाथरी शिविर र महिला प्रशिक्षण केन्द्रका अस्थायी शिविरमा बस्दै आएका बाढीपीडित परिवारको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

गर्मी र हावाहुरीसहितको वर्षातका कारण कुनाथरीको गिरीघाट खोला र महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका ज्येष्ठ नागरिक, सुत्केरी महिला, नवजात शिशु र बालबालिका अहिले रातभर जाग्राम र दिउँसो सडक छेउमा बस्न बाध्य भएका छन् ।

Photo20180604Surkhet (1)

चार वर्षअघि वितरण गरिएको त्रिपाल नै उडाएपछि सुत्ने बस्ने स्थान, पर्याप्त ओढ्ने ओछयाउने कपडाको अभावमा रातभर जाग्राम बस्नु परेको महिला प्रशिक्षण केन्द्र शिविरमा बस्दै आएका बाढी पीडित विष्णु दमाईले गुनासो गरे ।

गर्मी तथा धुलो धुँवाको कारण ती शिविरमा रहेका बालबालिकामा रूघाखोकी, ज्वरो आउने, टाउको दुख्ने तथा ज्येष्ठ नागरिकमा पखाला लाग्ने रोगबाट पीडित बनेको अर्का बाढीपीडित विमला सुनारले गुनासो गरिन् ।

अस्थायी शिविरमा बस्दै आएको चार वर्ष पुगिसक्दासमेत आफूहरूको पुनर्स्थापनाका लागि राज्यले कुनै पहल नगरेको र कर्णाली प्रदेश सरकारले समेत यसतर्फ कुनै चासो नदिएको बाढीपीडित बलबहादुर थापाले जानकारी दिए ।

यस विषयमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री विमला केसीले सुर्खेत जिल्लाका साथै प्रदेश भरिकै बाढी पीडित तथा भूमिहीनहरूको उचित व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताइन् ।

वि.स. २०७१ साउन २५ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण वीरेन्द्रनगर नपा, लाटीकोइली, उत्तरगङ्गा, तातापानी, घाटगाउँ, कुनाथरी, लेखपराजुललगायतका स्थानका २ हजार ३ सय २७ परिवारका १२ हजार ३ सय ८५ जना विस्थापित भएका थिए ।

अन्य

भिडियो