INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतले रिहा गरे लगत्तै विप्लव नेतृत्वको नेकपाका चारजना कार्यकर्ता गिरफ्तार

अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य तथा पूर्व सभासद किरण राईलगायत चार जनालाई प्रहरीले जेठ १५ गते उच्च अदालत विराटनगर परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश कुलरत्न भुर्तेलले रिहा गर्न आदेश दिएपछि बाहिरिँदै गरेका उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

अदालत परिसरबाटै गिरफ्तार हुनेमा ४२ वर्षीय किरण राई, ३५ वर्षीय माधव गौतम, ३१ वर्षीय नवराज भट्टराई र ३० वर्षीय दिप्सन लिम्बू रहेका छन् ।

राईले अदालतको आदेशको पालना नगरेर राज्यले आफूहरूलाई फरक विचार र आस्था राख्दैमा विभेद गरेको प्रतिक्रिया दिए । गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार भएका उनीहरूलाई चैत २९ गते जिल्ला अदालतले छोड्न आदेश दिए लगत्तै उदयपुर प्रहरीले लगेको र वैशाख २९ गते पुनः गिरफ्तार गरी मोरङको उर्लाबारी ल्याएको थियो ।

पटकपटक अदालतले रिहा गर्न आदेश गर्दापनि अटेर गरेर प्रहरीले ज्यादती गरेको सो पार्टी महिला सङ्गठन केन्द्रीय सदस्य मनु अच्छामीले बताइन् । अधिवक्ता विनोद तिम्सिनाले राज्यले अदालतले गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा गिरफ्तार गर्नु न्याय सङ्गत नभएको बताइन् ।

अन्य

भिडियो