गोरखा फुजेलकी ६२ वर्षीय गङ्गामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि फेरि आमरण अनसन सुरू गरेकी छन् ।

१७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्दै १४ वर्षयता सत्याग्रहमा होमिएकी अधिकारीले जेठ १५ गते पत्रकार सम्मेलन गरी गणतन्त्रमा पनि न्याय नपाएकाले आमरण अनसन थालेको बताएकी छन् । केही समययता झोलिलो पदार्थमा भर पर्दै आएकी अधिकारीले जेठ १५ गतेबाट पानी पनि नखाई अनसन बस्ने जानकारी दिएकी हुन् ।
बिगत लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पताल काठमाडौँमा राखिएकी अधिकारीले अस्पतालकै बेडबाट सञ्चारकर्मी र मानव अधिकारकर्मीमाझ छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै पुनः आमरण अनसनको घोषणा गरेकी हुन् । त्यसक्रममा अधिकारीले छोराको हत्यारालाई अझै कारबाही नगरेकोमा आफूमाथि ‘न्याय नगरेको’ भन्दै अदालतप्रति आक्रोश व्यक्त गरिन् ।

न्याय नदिने भए अब आफूलाई पनि फाँसी दिन उनले सरकारलाई चुनौती दिएकी छन् । अधिकारीले छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला पति नन्दप्रसादको पनि ज्यान गएकोमा भावविहृवल हुँदै अब पनि न्याय नपाए आत्मादाह गर्ने चेतावनी पनि दिएकी छन् ।
अधिकारीले यसअघि पनि न्यायको माग गर्दै पटकपटक आमरण अनसन बसेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई वास्ता नगरेको भन्दै आपत्ति जनाइन् । बालकृष्ण ढुङ्गेललाई छोडेको र छोराको हत्याराहरूलाई कारबाही नगरिएकोमा उनले दुखः व्यक्त गरेकी छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादी पक्षबाट अपहरण गरी ०६१ साल जेठ २४ गते हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसेका बेला ०७१ असोज ६ गते मृत्यु भएका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ ।